‘जुगाड खोला कोरिडोर’ निर्माणमा आर्थिक हिनामिनाको आशंका :एकै दिनमा रोक्का गरिएको खाता भोलि पल्टै फुकुवा

जुम्ला : जुम्ला जिल्लामा निर्माणाधीन ‘जुगाड खोला कोरिडोर’ योजनामा कृत्रिम ठेक्का प्रक्रियामार्फत भुक्तानी गरिएको प्रकरणले गम्भीर आर्थिक हिनामिनाको आशंका जन्माएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्ला अन्तर्गतको सो योजनामा उपभोक्ता समितिमार्फत २ करोड ७ लाख रुपैयाँ २०८२ साल असार ३० गते भुक्तानी गरिएको देखिन्छ। तर, सो रकम भुक्तानी भएको भोलिपल्टै — २०८२ असार ३१ गते — कृषि विकास बैंक, जुम्ला शाखामा रहेको सो खातालाई रोक्का गर्न पत्र पठाइएको छ। अझ चकित पार्ने कुरा के छ भने, रोक्का गरिएको खाता पुनः २०८२ असार ३२ गते नै फुकुवा गरिएको देखिन्छ।
सूत्रका अनुसार, आयोजना प्रमुख जगदीश लामिछानेले साउन ३२ गते पठाएको पत्रमार्फत ‘आर.एम. बर्दिया जियाना आर.एन.वि. जे.भी.’ नामक निर्माण कम्पनीको (खाता नं. ०७२१३०५४७२६९२०१८०) खाता फुकुवा गर्न निर्देशन दिएका थिए। सो खातामा जम्मा गरिएको रकम रु. २,०७,६३,२९६ थियो। यो काम उपभोक्ता समितिमार्फत गराइएको भए पनि, त्यसलाई प्रयोग गरी कृत्रिम रूपमा ठेक्का कम्पनीलाई रकम दिलाइएको आशंका गरिएको छ।
फुकुवाको पत्र
स्पष्ट प्रक्रिया विना फुकुवा ?
स्थानीय स्रोतहरूका अनुसार, रोक्का गरिएको खाता कुनै स्पष्ट छानबिन विना भोलिपल्टै फुकुवा हुनु योजना कार्यान्वयनमा गम्भीर नियमन अभाव देखिएको माओवादी केन्द्रको आरोप छ । उनीहरुले यसले आयोजनाको पारदर्शिता र नियतप्रति प्रश्न उठाएको छ।
यस सन्दर्भमा सघन शहरी तथा भवन निर्माण आयोजना,जुम्लाका सव–इन्जिनियर तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काले बर्दिया जियाना आर.एन.वि. जे.भी.का ठेकेदारले दिएको निवेदानको खाता रोक्का गरिएको बताए ।तर उनले भने अनुसार त्यसको भोलिपल्ट फुकुवाको लागी निवेदन दिएपछि सोही आधारमा खाता फुकुवा गरिएको बताए । उनले यो प्रक्रियामा कार्यालयको कुनै व्यक्तिगत नियत नरहेको जिकिर गरे। उनले लोक दोहोरी प्रतिष्ठानको कार्यक्रम आफ्नो कार्यालयको नभएको र सहिद स्मृति भवन वडा कार्यालयको सिफारिसमा कर्णाली स्पोट क्लबको जग्गामा निर्माण गरीएको बताए ।
यस्ता छन निवेदन

राजनीतिक दलको माग :छानबिन होस्
नेकपा माओवादी केन्द्र चन्दननाथ नगर कमिटीले घटनाको छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ। सो पत्रमा नगर क्षेत्रभित्रका विकास योजनाहरूमा आर्थिक अनियमितता व्यापक रहेको उल्लेख गरिएको छ।
पार्टीका अध्यक्ष सुरेन्द्र बहादुर महतद्वारा हस्ताक्षरित पत्रमा, चन्दननाथ नगरपालिका वडा नं. २ मा पहिले नै ढलान गरिएको ठाउँमा पुनः ढुङ्गा सोलिङ गरी फेरि ढलान गरिएको, वडा नं. ५ मा कम परिमाणको ढलान गरिई पूरा भुक्तानी गरिएको, सहिद स्मृति प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जग्गा पास नहुँदै उपभोक्ता समितिमार्फत भवन निर्माणको नाममा रकम भुक्तानी गरिएको जस्ता गम्भीर आरोप लगाइएको छ।
त्यस्तै, १८० घन मिटर मात्र गर्नुपर्ने पलम कङ्क्रिटलाई ३४८ घन मिटर देखाई करिब ५६ लाख रुपैयाँ बढी भुक्तानी गरिएको, कतिपय योजना अधुरै हुँदा पनि पूर्ण रकम भुक्तानी गरिएको, र केही अवस्थामा काम नगरी नै बिल पेश गरिएको समेत जनाइएको छ।
कारबाहीको माग
ध्यानाकर्षण पत्रमार्फत चन्दननाथ नगर कमिटीले सबै अनियमितताको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। “विकास बजेटको दुरुपयोग नगरवासीप्रति विश्वासघात हो,“ अध्यक्ष महतले भने, “यदि सम्बन्धित निकाय मौन बस्यो भने हाम्रो पार्टी कडा आन्दोलनमा जानेछ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले भने, “हामीले ध्यानाकर्षण पत्र प्राप्त गरेका छौं। कार्यालयको तर्फबाट आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।










