सांसद छिरिङ ल्याम्बु लामाको चरित्र हत्या प्रयास खुलास :सांसद ज्ञानेन्द्र शाहीका सचिव पक्राउ, पाँच दिनको म्याद थप

जुम्ला : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की नेतृ छिरिङ ल्याम्बु लामाविरुद्ध प्रविधिको दुरुपयोग गरी नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको खुलासा भएको छ।

सांसद लामाको सामाजिक र राजनीतिक छवि बिगार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरेको अभियोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीका निजी सचिव रमेश बहादुर बाग पक्राउ परेका छन्।

प्रहरीका अनुसार, उनले उक्त सामग्री आफ्नै फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए। सो प्रोफाइलमा उनी “सांसद ज्ञानेन्द्र शाहीको निजी सचिवालयमा कार्यरत” भनेर उल्लेख गरिएको छ, जसले यो कार्य शाहीको सहमति वा निर्देशनमा भएको संकेत गर्छ।

सांसद लामाले असार १९ गते साइबर ब्युरो, भोटाहिटीमा उजुरी दर्ता गरेकी थिइन्। उजुरीपछि प्रहरीले सोही दिन बागलाई पक्राउ गरेको हो। लामाले बाग सहित ६ जनाविरुद्ध उजुरी दिएकी छिन्।

उनकी सचिवका अनुसार, ज्ञानेन्द्र शाहीले लामो समयदेखि सांसद लामामाथि राजनीतिक दबाब सिर्जना गर्ने, राजतन्त्रविरोधी अभिव्यक्ति नदिन चेतावनी दिने तथा संसद्मै धम्कीपूर्ण अभिव्यक्ति दिने कार्य गर्दै आएका थिए।

प्रहरी स्रोतअनुसार, सांसद शाही पक्राउपछि दुईपटक साइबर ब्युरो पुगेका छन् र आफ्ना सचिवको रिहाइका लागि आग्रह गरिरहेका छन्। अन्य माध्यममार्फत समेत दबाब दिइएको जानकारी प्राप्त भएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले रमेश बहादुर बागलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।

सांसद लामाले घटनाको भर्त्सना गर्दै भनिन्, “यस्ता नियोजित आक्रमण मेरो आवाज थाम्ने षड्यन्त्र हुन्। यस्ता हर्कत गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइन्छ।”

उनका अनुसार, लामो समयदेखि विभिन्न व्यक्तिहरूबाट झूटो र गलत सामग्री प्रचार गर्ने जस्ता कार्या हुदै आएका थिए ।  फाेटा तथा भिडियो सबै भन्दा पहिले कुन मोबाइलबाट पठाइएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।