चन्दननाथ मन्दिरको सेरा खेतको रोपाइँ (फोटोफिचर)
जुम्ला :चन्दननाथ मन्दिरको सेरा खेतमा मार्सीधान रोपाइँ भएको छ । यस मन्दिरको परिसरमा रहेको सेरा ज्युलोको खेतमा मार्सी धान रोप्ने परम्परा रहेको छ ।चन्दननाथ मन्दिरको सेरा खेतमा रोपाइले कृषकहरूको जीवनशैली र परम्परालाई संरक्षण गरेको छ । उसो त अहिले जुम्लाका कृषकलाई काली मार्सी धान रोप्ने सबै तिर चटारो छ। बुधबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ गरिएको छ ।
जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको खेतमा रोपाइँ परा–पूर्वकालदेखि नै चन्दननाथ भैरव नाथ गुठी समितिले जेठ १४ गते हुने गर्दछ । चन्दननाथ भैरव नाथ गुठी समितिका अध्यक्ष अम्मर थापाले चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकाल देखि नै मन्दिरमा अक्षेता चढाउन मार्सी धान रोप्ने बताए ।उनका अनुसार सेरा ज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना माविका विद्यार्थी र स्थानीय महिलाहरू सहभागी थिए।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले चन्दननाथ मन्दिरको सेरा खेतमा धान रोपाइँको परम्परागत दृश्यले यस क्षेत्रको सांस्कृतिक र कृषिजन्य महत्वलाई प्रकट गर्ने बताए ।उनले चन्दननाथ मन्दिर, हिन्दू धर्मको प्रमुख मन्दिर हो र यसका आसपासका क्षेत्रहरू कृषिजन्य गतिविधिहरूका लागि प्रसिद्ध छन्। उनका अनुसार चन्दननाथ मन्दिरको सेरा खेतमा हुने रोपाईको महत्व र परम्परालाई संरक्षण गर्दै, आगामी पुस्तासम्म पुर्याउन आबश्यक छ ।
त्यस्तै चन्दननाथ नगरपालिका –५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको बताए ।सेरा ज्युलो रोपाई गर्न चन्दननाथ नुमुना माविका छात्राहरु सहभागी थिए।
त्यस्तै प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा काली मार्सी धान स्थानीय सबैको सहयोगमा रोपाइ हुन्छ। जुम्ली काली मार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको मानिन्छ । सन् १३०० मा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ। केही जानकारका अनुसार मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ ।
जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो। जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ।









