प्रोटोकल मिचेर देउवा र भट्टराईले भारतीय मन्त्रीलाइ होटलमै गएर भेटे

काठमाडौँ —:पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरलाई कूटनीतिक मर्यादा विपरीत उनी बसेको होटेलमै पुगेर भेट गरेका छन् । उनीहरूको यस्तो कदमको कूटनीतिक वृत्तले मात्र नभएर सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । ‘भ्रमणरत भारतीय विदेशमन्त्री जयशंकरसँग आपसी हितका विषयमाथि राम्रै विचारविमर्श भयो,’ दिउँसो एक बजे जयशंकरसँग भेटेलगत्तै तस्बिरसहित भट्टराईले ट्विवट गरेका छन्, ‘वर्तमान भारतीय सरकार नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक छ भन्ने थाहा पाउँदा खुसी लाग्यो।’ त्यसलगत्तै सामाजिक सञ्जालमा कूटनीतिक मर्यादा लत्याएर भेट गर्न गएको भन्दै भट्टराईको चर्को आलोचना भएको थियो। ‘उहाँ बसेको होटलमा जानुभएछ,’ एक महिलाले ट्विट गरेकी छन्, ‘तपाईंलाई आफ्नो प्रोटोकलले भेट्न जाने सुविधा दिएको छ कि छैनरु’
भट्टराईका साथ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जयशंकरलाई भेट्न पुगेका थिए। त्यस्तै देउवाका साथमा कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य नारायण खड्का र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा। दिनेश भट्टराई पनि होटल पुगेका थिए। स्रोतका अनुसार जयशंकरले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि भेटका लागि आफू बसेको होटलमा बोलाएका थिए। होटलमै गएर भेट्नु कूटनीतिक मर्यादा विपरीत हुने भन्दै दाहाल र नेपालले उनलाई भेटेनन्। नेपाल आएको पहिलो दिन बुधबार जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै भेट गरेका थिए। बिहीबार फर्केका उनले जानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको भारतीय दुतावासले जनाएको छ।








