यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गतेका राष्ट्रपतिको चुनाव मिति घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले चुनावबारे जानकारी दिएको छ।

त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए ।

उनले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरी लगायतका कामहरू १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन ११ र १२ गते गर्ने कार्यतालिका रहेको जानकारी दिए । आयोगले अन्तिम मतदाता नामावली प्रकाशित १२ गते र उम्मेदवार मनोनयनपत्र दर्ता १३ फागुमा हुने जनाएको छ । त्यस्तै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची १३ गते साँझ प्रकाशित गर्ने, उम्मेदवारको बिरुद्धमा उजुरी १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने काम लगायतका कामलाई राष्ट्रपतिकै कामका लागि गरेकोबाट निरन्तरता दिने बताए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित सोही दिन गर्ने तालिका रहेको छ । त्यस्तै उम्मेदवारको बिरोधमा उजुरी दिने सोही दिन, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित फागुन २८ मा हुनेछ ।

पौडेलले संविधानको स्पिरिटलाई समातेर ५ वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउनका लागि आयोग लागेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार