मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सतप्रतिशत सांसदले दिए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा सभाका सबै सदस्यले पक्षमा मत दिएका छन् ।

बुधबार सभामा १०२ सांसद उपस्थित थिए । उनको पक्षमा १ सय २ मत नै परेको छ ।

केन्द्र जस्तै प्रदेशमा पनि विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिए ।

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई अस्थिर हुनबाट जोगाउन तथा संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यले आफ्नो पार्टीले विपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको बताए ।

विश्वासको मत दिएर पनि प्रदेशसभामा आफ्नो पार्टी प्रमुख प्रतिपक्षको भूमिकामा रहने उनले बताए । कांग्रेस जस्तै नेकपा एसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।

यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारुढ गठबन्धनदलसँगै विपक्षी दलले विश्वासको मत दिएका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघीय समाजवादी पार्टी, राप्रपासहितका दल सत्ता गबठन्धनमा पहिलादेखि नै सहभागी छन् ।

विश्वासको मत लिने क्रममा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले आफूले मधेसलाई भष्टाचार मुक्त र सुशासन कायम गर्ने पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले गत वर्ष काम भएर पनि भुक्तानि हुन बाँकी रहेका योजनाहर्रको भुक्तानि गराउन १५ दिनभित्रमा पहल गर्ने समेत प्रतिबद्धता जनाए । प्रदेश सरकारले विगत पाँच वर्षमा भएका कामहरूको अनुगमन गरी योजनाअनुसार नभएको पाइएमा कारवाही गर्नेसमेत चेतावनि दिए । मुख्यमन्त्री यादवले सबैको साथ सबैको विश्वास लिएर कामलाई अगाडि बढाउने बताए ।

सम्बन्धित समाचार