बहिनी, ज्वाइँ र जेठानले जिते प्रतिनिधिसभाको चुनाव

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभाको चुनावमा बहिनी, ज्वाइँ र जेठानले अलग अलग पार्टीबाट चुनाव जितेका छन् । उनीहरू हुन् रघुवीर महासेठ, जुलीकुमारी महतो र वीरेन्द्र महतो । जुली वीरेन्द्रकी बहिनी हुन् भने रघुवीर बहिनीज्वाइँ ।

निर्वाचन आयोगका अनुसार उनीहरू पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित भएका हुन् । वीरेन्द्रको दल जनता समाजवादी पार्टी (जसपा) हो । बहिनी जुली र ज्वाइँ रघुवीरको दल एमाले हो ।

जसपाबाट मधेस प्रदेशको सिरहा–४ मा उम्मेदवार बनेर वीरेन्द्रले जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहलाई पराजित गरे । उनले २४ हजार १०२ मत र पराजित भएका साहले १६ हजार २९४ मत पाएका थिए ।

जुलीसँग धनुषा ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झा पराजित भए । जुलीले ३३ हजार ३५५ मत र अनिलले २३ हजार ६८६ मत पाएका थिए ।

रघुवीरले भने कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे । निर्वाचित भएका रघुवीरले ३२ हजार २३६ मत र पराजित भएका महेन्द्रले ३२ हजार ११२ मत पाए ।

ज्वाइँ रघुवीर पटकपटक मन्त्री भइसकेका छन् । बहिनी जुली पनि मन्त्री भइसकेकी छिन् । यसअघि पनि उनीहरू संघीय संसद्‌मा थिए ।

सम्बन्धित समाचार