नयाँ झालेमाले पार्टीका कारण देश दुर्घटनातिर जाने खतरा देखियो ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातिर धकेलिने संकेत देखिएको बताएका छन् ।

मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीले औँल्याएका छन् ।

झापामा विजय जुलुसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि मतपरिणाम त्यसो हुन नसकेको बताए ।

अहिलेसम्मको मत परिणामले कुनै पनि दलको बहुमत नपुग्ने देखियो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था सिर्जना भएको उनले औँल्याए ।

‘बहुमतको सरकार नबन्ने भएपछि दलहरू आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागवण्डामै लाग्दा ठिक्क हुन्छ । सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने ।

देशमा नयाँ पार्टीका नाममा आएका झालेमाले नेताहरुका कारण झन् अस्थिरता थपियो । निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ भन्ने जनतामा आस थियो । तर, नयाँ पार्टीका कारण त्यस्तो नहुने भयो ।’

सम्बन्धित समाचार