फुटबलमा पाकिस्तानविरुद्ध नेपालको जित, अन्जनको गोल नै निर्णायक

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।
नेपालको जितमा अन्जन विष्टले गोल गरे । खेलको २६औँ मिनेटमा पाकिस्तानले गोल गर्ने राम्रो अवसर पाएको थियो । डीबक्सभित्र पाकिस्तानी खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ३८औँ मिनेटमा विमल घर्तिमगरको पासमा दिनेश राजवंशीले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर पाकिस्तानका डिफेन्डरले बचाए । योसँगै पाकिस्तानविरुद्ध अग्रता बनाउने अवसर गुमाएको थियो ।

पहिलो हाफमा गोलरहीत बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ८३औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए ।

आवास लामिछानेले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरे । उनले खेलको ५४औँ मिनेटमा सेसेहाङ आङ्दम्बेको स्थानमा मैदानमा छिर्दै राष्ट्रिय टिममा डेब्यु गरे ।

नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा पहिलो पटक रोहित चन्दको कप्तानीमा नेपालले खेल खेलेको हो । किरण नहुँदा गोलकिपरमा दीप कार्कीले अवसर पाए ।


error: Alert: Content is protected !!