महिला भलिबलको स्वर्णका लागि एपीएफ र पुलिसले खेल्ने

काठमाडौं । विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलको फाइनलमा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा मंगलबार भएको सेमिफाइनलमा एपीएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अब स्वर्णका लागि फाइनलमा एपीएफ र पुलिसले बुधबार प्रतिस्पर्धा गर्नेछ ।

एपीएफले बागमतीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२३ ले जितेको बागमतीलाई एपीएफले त्यसपछिका उत्कृष्ट पुनरागमन गर्दै २५–२३, २५–२२ र २५–१६ को सेटमा पराजित गरेको हो । पुलिसले गण्डकीलाई २५–१०, २५–१८ र २५–११ सेटमा पराजित गरेको हो ।
कास्य पदकको लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, एपीएफ र पुलिसबीचको फाइनल खेल दिउँसो १ बजे हुनेछ ।

त्यस्तै, पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा तीन विभागीय टिम, आर्मी, पुलिस र एपीएफ क्लब प्रवेश गरेका छन् । त्यस्तै, घरेलु टिम गण्डकीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अर्को खेलमा आर्मीले वागमती प्रदेशलाई ३–० कै सेटमा पराजित गरेको हो । आर्मीले बागमतीलाई २५–२१, २५–२२ र २५–१५ को सेटमा हराएको हो । तेस्रो क्वार्टरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो २५–२३ र दोस्रो २८–२६ को सेटमा आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट भने २५–२३ ले गुमाएको थियो । तर चौथो सेट एपीएफले लुम्बिनीलाई २५–१७ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

गण्डकीले अन्तिम क्वार्टरफाइनलमा प्रदेश १ लाई सोझो सेटमै पराजित गर्न सफल भयो । गण्डकीले प्रदेश १ लाई २५–२०, २५–२१ र २५–१३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनलमा पुलिस र त्रिभुवन आर्मी र अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछन् ।

सम्बन्धित समाचार