२० स्वर्णसहित आर्मी टिम पौडीमा च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो ।
पोखरामा मंगलबार सम्पन्न पौडी प्रतियोगितामा आर्मी टिम च्याम्पियन बन्दा एनआरएनएले ९ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदक जित्न सफल भयो । एपीएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदक जित्दै तेस्रो बन्यो ।

अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा पूरा गरिन् । पुलिसकी मिगन गुरुङले पाँच मिनेट ४.३८ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले पाँच मिनेट ७.३६ सेकेन्डमा परा गर्दै कास्य पदक जितिन् ।

पुरुष चार सय मिटर आइएममा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेन्डमा पूरा गरे । एपीएफका सुरेन् बहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेन्डमा पूरा गर्दै कास्य जिते । महिला सय मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले एक मिनेट १६.६३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ती मर्हजनले एक मिनेट २२.३९ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले एक मिनेट २२.६७ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

मंगलबार नै भएको पुरुष सय मिटर बेष्टस्ट्रोकमा प्रदेश १ का विकास कुमालले स्वर्ण जितेका छन् । उनले एक मिनेट ७.९३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते । आर्मीका नासिर हुसेनले एक मिनेट ८.४६ सकेन्डमा सक्दै रजत पदक जिते भने एनआरएनका आशिष सापकोटाले एक मिनेट ८.८० सेकेन्डमा सक्दै कास्य पदक जिते ।

अर्को खेलमा पुरुष दुई सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले दुई मिनेट ९।४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले दुई मिनेट २६.६० सेकेन्डमा पूरा गर्दै रजत पदक जितेका छन् भने एपीएफका सुरेन्द्र बहादुर सिंहले दुई मिनेट २७.४५ सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाए । महिलातर्फ ५० मिटर फ्रिस्टाइलमा एनआरएनएका एस्ली सापकोटा डंगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेन्डमा पूरा गरिन् । आर्की गौरिका सिंहले २८.२९ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जितिन् । २८.७९ सेकेन्डमा दूरी पूरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका एलेकजन्डर शाहले २३.८७ सेकेन्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेका छन् । पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेन्डको समयमा पार गर्दै रजत र एपीएफका तेन्जिङ नाम्दी रयान गुरुङले २५.८२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते । चार सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

पौडी प्रतियोगितामा आर्मीकी दुवाना लामाले ९ स्वर्ण, एक रजतसहित १० पदक जितेकी छिन् । आर्मीकै नाजिर हुसेनले सात स्वर्ण, दुई रजत र एक कास्यसहित १० पदक जितेका छन् । एनआरएनएका एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, दुई रजतसहित आठ पदक र आर्मीकी गौरीका सिंहले पाँच स्वर्ण, एक रजतसहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचार