कर्णालीको नेतृत्वमा उदाएकी महिला नेतृ

कर्णाली प्रदेश सरकारअघि खासै नसुनिएको, कमै देखिएको र खासै चर्चा नभएको नाम हो, विमला केसी । जो पहिलो कर्णाली प्रदेश सरकारमा पहिलो महिला मन्त्री बनिन् । मुख्यमन्त्री महेन्द्र शाहीको सरकारमा कृषिमन्त्री बनेकी विमला केसीले सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाइन् ।

उनले आफ्नो पार्टीमा रहेका सीता नेपाली, कृष्णा शाह, पुष्पा घर्ती लगायत थुप्रै महिला नेतृलाई पछाडि पारेर मन्त्री बन्ने अवसर पाइन् । यसका लागि उनले सुरुवातदेखि नै केन्द्रीय राजनीतिमा प्रभाव जमाएका जनार्दन शर्माको साथ पाइन् ।

जनार्दनकै साथ, सहयोग र संरक्षणमा विमला केसीले कर्णालीको पहिलो सरकारमै पहिलो महिला मन्त्री बन्ने अवसर पाएकी थिइन् । त्यो पहिलो अवसरलाई उनले यसरी नेतृत्वमा परिणत गरिन्, जसले रातारात उनको नेतृत्व विकास सफलताको सिढी चढ्न थाल्यो ।

रुकुम पश्चिमबाट प्रदेश सांसद बनेकी उनले पहिलो सरकारमा मन्त्री बनेपछि पाँच वर्षमा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्ष बनेर आफूलाई नेतृत्वका रुपमा अब्बल प्रमाणित गरेकी छन् । जुन अवसर उनलाई कर्णाली प्रदेश सरकारमा मन्त्री बनेपछि प्राप्त भएको हो ।

मन्त्री बनेपछि महिला नेतृत्वको प्रभाव 
महेन्द्र शाहीको सरकारमा प्रवक्ताको जिम्मेवारी सम्हालेकी उनले प्राप्त अवसरलाई मिडियासामु राम्रोसँग प्रस्तुत गर्ने मौका पाइन् । कर्णालीका सबैजसो पत्रकारसँग उनको राम्रो सम्बन्ध बन्यो ।

प्रवक्ता भएको हिसाबले प्रदेश सरकारका बारेमा उनैलाई धेरै पत्रकारको फोन आउँथ्यो । ती सबै फोन रेस्पोन्स गर्ने उनले आफ्नो व्यक्तित्व पत्रकारमार्फत थप उचाईमा पुर्याइन् । पत्रकारदेखि प्रदेश सरकारमा रहेका सबै मन्त्रीसँग पनि एक किसीमको प्रभावशाली क्षमता निर्माण गरेकी उनले त्यो अवसरलाई आफ्नो नेतृत्व विकासको पहिलो खुड्किला बनाइन् ।

पाँच वर्षको प्रदेश सरकारमा झण्डै तीन वर्ष कृषि मन्त्री बनेकी उनले धेरै हदसम्म आफूलाई अब्बल रुपमा महिला नेतृत्वको रुपमा उभ्याइन् । प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा अर्थमन्त्री जनार्दन शर्माको साथ पाएका कारण उनलाई पछाडि फर्केर हेर्नुपरेन ।

तीन वर्षमा सरकारमा रहेकी उनले सबै पत्रकारको भरपुर साथ पाइन् । उनी बेला बेला पत्रकारलाई फिल्ड भिजिटमा लिएर आफ्नो प्रभाव झन् बढाउने काम गरिन् । मन्त्री हुँदा आफूले गरेको कामबारे चर्चा गर्ने माध्यम पनि बनाइन् ।

उनको बोली, व्यवहार र सबैलाई बराबर व्यवहार गर्ने बानीबाट प्रभावित पत्रकारले पनि उनलाई साथ दिए । उनले कुुनै नेता र कार्यकर्तालाई नचिढ्याएर सन्तुलित व्यवहार देखाइन् । जसकारण उनको आलोचना निकै कम, चर्चा विस्तारै बढ्दै गयो ।

मुख्यमन्त्री शाही बोल्दै नबोल्ने तर कृषि मन्त्री तथा प्रवक्ता केसी बोलेर नथाक्ने र पत्रकारलाई चाहिएको सूचना दिन सक्ने क्षमताका कारण उनले आफूलाई कर्णालीमा एकल नेतृका रुपमा उभ्याउन सफल भइन् । जसले गर्दा तीन वर्षमा उनले प्रदेश सरकार र माओवादी केन्द्रको प्रदेश टिममा आफ्नो प्रभाव जमाइन् ।

जसकारण उनले नरेश भण्डारी, सीता नेपाली, ठम्मर बिष्ट लगायत थुप्रै नेतालाई पन्छाएर नेतृत्वमा पुग्न सफल भइन् ।

सरकारको मन्त्रीबाट माओवादी केन्द्रको प्रदेश अध्यक्ष
यसै वर्ष माओवादी केन्द्रले झण्डै आठ वर्षपछि महाधिवेशन आयोजना गरेको थियो । त्यसअघि जिल्ला र प्रदेश अधिवेशन पनि आयोजना गरियो । कर्णाली प्रदेशमा आयोजित प्रदेश अधिवेशनमा माओवादीको कर्णाली प्रदेश नेतृत्वका लागि धेरैको नाम चर्चामा थियो ।

तर सबै चर्चामा रहेका नाम चर्चामै सीमित राखेर विमला केसी प्रदेश अध्यक्षमा सर्वसम्मत चयन भइन् । पुरुषबाट अध्यक्ष बनाउँदा धेरैको दाबी र विरोध रहने भएकाले केन्द्रीय संगठन प्रमुख जनार्दन शर्मा र अध्यक्ष प्रचण्डले विशेष अधिकार प्रयोग गरेर विमला केसीलाई सोझै महिलालाई अवसर दिनुपर्ने भन्दै अध्यक्ष चयन गरेका थिए ।

त्यो चयनले सुरुमा विमलालाई केही दबाब बढाएको थियो । अरु नेताहरुको पनि असन्तुष्टि थियो । खासगरी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र शाही लगायतको असन्तुष्टि थियो । तर उनले विस्तारै परिपक्व नेतृत्व गरेपछि अहिले विमला केसीका हरेक निर्णय माओवादीको कर्णाली प्रदेश कमिटीमा निर्णायक बन्न थालेका छन् ।

हालै माओवादीले कर्णालीमा सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । जसमा विमला केसीको निर्णय हावी रह्यो । कार्यकर्तामा मन्त्री बन्नैका लागि असन्तुष्टि बढेका बेला उनीहरुको माग सम्बोधन गर्न सबै सांसदलाई पालो पुर्याएर मन्त्री बनाउने उनको योजना सफल भएको देखिन्छ ।

जसले गर्दा महिला, दलित समूदाय, जनजाती र सबै माओवादी सांसदले पहिलो प्रदेश सरकारमै मन्त्री बनेर इतिहासमा नाम लेखेको बुझाई माओवादी वृत्तमा छ । उनी महिलाबाट अध्यक्ष बनेपनि निर्णय गर्दा महिला, पुरुष, दलित, जनजाती सबैलाई प्राथमिकतामा राखेर गर्ने गरेको उनी निकट केही नेताहरुले बताएका छन् ।

निर्णय गर्दा उनले जनार्दन शर्मा, शक्ति बस्नेत, पहिलो मुख्यमन्त्री महेन्द्र शाही, इन्चार्ज कालीबहादुर मल्ल लगायत सबैसँग गोप्य रुपमै परामर्श गर्ने कारणले पनि उनका निर्णय परिपक्व भइरहेका छन् । जसले कर्णाली प्रदेश सरकारमा पाएको एउटा अवसरलाई ऐतिहासिक रुपमै आफ्नो राजनीतिक जीवनको उदयमा परिणत गरेकी छन् । जुन सामान्य नेता र त्यसमा पनि महिला नेतृका लागि ठूलो चुनौतिको विषय हुन्थ्यो ।

तर उनले चुनौतिलाई स्वीकार गरेर पाएको अवसरलाई आफ्नो व्यक्तिगत र पार्टीगत निर्णयमा ढाल्दै कर्णालीमा प्रभावशाली व्यक्तित्व बनाउन सफल भएकी छन् । जो निकट भविष्यमा कर्णालीमा मात्रै होइन, केन्द्रीय राजनीतिमा प्रभाव राख्न सक्ने क्षमता पनि राख्छिन् । कर्णालीखवरबाट सभार

सम्बन्धित समाचार