कांग्रेसभित्र गुट कि गुटभित्र कांग्रेस

नेपाली कांग्रेसमा गुटैगुट

author-image

नवीन झा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रका विभिन्न गुटले पार्टी संगठन कमजोर बन्दै गएको छ। यस्तै संसद्मा  कांग्रेसले निर्वाह गर्नुपर्ने प्रतिपक्षीको भूमिका सशक्त नहुँदा प्रश्न उठ्न थालेको छ।

कांग्रेसले देशव्यापी गरिरहेको पार्टी जागरण अभियानमा गुटगत प्रभाव स्पष्ट देखिएको छ। अभियान क्रममा पार्टी सभापतिले देशभरि खटाएको केन्द्रीय प्रतिनिधिदेखि कार्यक्रम घोषणामा सल्लाह नगरेको भन्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

 

कार्य सम्पादन समिति गठन विवादले केन्द्रीय समिति बैठक बस्न सकेको छैन। त्यसअघि अनुशासन समिति गठनमा पनि महिनांै विवाद भएको थियो। चैत ४ र ५ को केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गरेको थियो। सभापति शेरबहादुर देउवाले अनुशासन समिति गठनसँगै कार्य सम्पादन समिति गठनको प्रस्ताव गरे पनि हुन सकेको छैन। उनले कार्य सम्पादनमा नाम सिफारिसका लागि गरेको आग्रह वरिष्ठ नेता रामचन्द्र पौडेलले मानेका छैनन्।

केन्द्रीय सदस्य उमाकान्त चौधरी पार्टीभित्र गुटभन्दा पनि व्यक्तिगत स्वार्थ हाबी भएको जिकिर गर्छन्। अनुशासन समितिमा समेत रहेका उनले पार्टीभन्दा पनि नेतामा आफूलाई केन्द्रमा राख्ने प्रचलन बढेर गएको आरोप लगाउँछन्।

विश्लेषक जुगल भूर्तेलले पार्टी निर्णय निजी स्वार्थका हिसाबले हुन थालेपछि गुटको चलखेल बढेको बताउँछन्। ‘हाम्रो राजनीतिमा गुट अब कुनै नयाँ विषय रहेन’, उनी भन्छन्, ‘बिनागुट राजनीति नै हुन्न भन्ने हाम्रोमा मान्यता स्थापित भयो।’ कांग्रेसमा पछिल्लो समय उठ्ने सबै विषयलाई केही केन्द्रीय शीर्ष नेताले महाधिवेशनकै रूपमा लिन थालेको भन्दै त्यसले समेत पार्टीमा गुट धेरै प्रखर देखिन थालेको उनको भनाइ छ।

तीन वर्षअघि भएको १३ औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले आ–आफ्नो समूह बनाएर नेतृत्वमा भिडेका थिए। संसद्, प्रदेश र स्थानीय तह निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि ती तीन समूह ठ्याक्कै दोब्बर भएर ६ भए। यसरी मौलाएका गुट अझै सक्रिय छन्। गुटगत सहमतिकै बहानामा केन्द्रीय बैठकसमेत प्रभावित हुँदै गएको छ।

गत वर्ष २५ असोजमा नेविसंघको विधान पारित गर्न डाकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सभापतिइतर गुटले बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेसको बैठक नै अनिश्चित भयो। त्यसअघि २१ असोजको बैठकमा वरिष्ठ नेता पौडेल, नेताहरू सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले बैठक निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए। नेविसंघमा ३२ बर्से उमेरहद लागू गर्ने निर्णय २१ असोजमा बहुमतका आधारमा भएको थियो।

२८ भदौमा डाकिएको केन्द्रीय कार्यसमिति बैठक पनि बिनासूचना नबस्नुको मुख्य कारण गुटगत सन्तुलन नमिल्नु नै थियो। सभापति देउवाले वरिष्ठ नेता पौडेललाई कार्यसम्पादन र अनुशासन समितिमा ४० प्रतिशत हिस्सा दिए पनि अर्का नेता सिटौलाले नबस्ने जनाउ दिएपछि आन्तरिक समीकरण पेचिलो बन्न पुग्यो। ‘निर्वाचनमा सभापति देउवाविरुद्ध तीव्र मोर्चाबन्दी भए पनि देउवा भर्सेज पौडेल मात्र रहेको अवस्था छैन’, एक केन्द्रीय सदस्य भन्छन्, ‘अब आउने महाधिवेशनको अहिलेकै अवस्थामा ५ जना जति सभापतिका उम्मेदवार हुने देखिन्छ।’

कतिवटा गुट ?

महाधिवेशनमा ३ गुट देखिएको पार्टीमा अहिले थप चिरा परेको छ। पार्टीको गतिविधि र विभिन्न मनोनयनमा आआफ्नो समूहगत चलखेल गर्ने पछिल्ला गुटमा देउवा, पौडल, सिटौला, कोइराला परिवार, प्रकाशमान समूहलगायत छन्।

१३औं महाअधिवेशनमा नेतृत्वबाट बाहिरिएको कोइराला परिवार फेरि नयाँ ढंगले अघि आउने सन्देश दिँदैछ। शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाको पछिल्लो मिलापले कांग्रेसको आन्तरिक गुटबन्दी प्रभाव पार्न सक्ने आकलन गर्न थालिएको छ।

डेढ वर्षयता कांग्रेसका महामन्त्री शंशाकको निवासमा लन्च मिटिङबाट सुरु भएको कोइराला परिवारको अभियान जिल्ला दौडाहामा पुगेको छ। महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर जिल्ला दौडाहा गर्न थालिसकेका छन्। कांग्रेसको इतिहास लेखेका पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसमा गुट उपगुट मौलाउनु नयाँ कुरा होइन तर पछिल्लो समय जसरी गुट फस्टाउँदै गएका छन्, पार्टीको हितमा छैन।’

कांग्रेसभित्र गुट कि गुटभित्र कांग्रेस

सभापतिमा निर्वाचित हुँदा देउवाले सबै गुट उपगुटको चित्त बुझाएर पार्टी एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। तर महाधिवेशनपछि आन्तरिक मात्र नभएर राष्ट्रिय मुद्दामा समेत पार्टी एकजुट देखिएको छैन। सबै गुटले आफ्नो लाइनलाई नै पार्टीको लाइन भएको दाबी बेलाबेला गर्छन्। अर्को महाधिवेशन हुन करिब डेढ वर्षमात्र बाँकी रहँदा यतिबेला ५ गुटका नेता सभापतिको प्रतिस्पर्धाका लागि दौडधुप थालिसकेका छन्।

चुनावमा कांग्रेसको नराम्रो हारपछि तीव्र आलोचित भए पनि सभापति देउवाले फेरि पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरिसकेका छन्। वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर पनि सभापतिका लागि तयारी गर्न थालिसकेका छन्। अर्का नेता सिटौला पनि त्यही दाउमा छन् भने संसदीय दलमा प्रतिस्पर्धा गरेपछि प्रकाशमान पनि हौसिएका छन्।

गुटबन्दी मौलाएर गएको निष्कर्ष पार्टीकै नेताहरूको छ। पार्टीको नयाँ विधानसमेत गुटगत चलखेलकै कारण कार्यान्वयन हुन सकेको छैन। कांग्रेस नेताहरू नै गुट उपगुटकै कारण चुनावमा हारेको बताउँछन्। उनीहरू भन्छन्, ‘कुनै नेता विशेष (गुट) को मान्छे भइएन भने पार्टीमा कुनै अवसर पाउने अवस्थासमेत छैन।’(अन्नपूर्णबाट)