मुगुका गाउँ,गाउँमा महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि
मुगु:हिमाली जिल्लाको रूपमा चिनिएको मुगु जिल्ला शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायात लगायतका विभिन्न क्षेत्रमा पछाडि परेको अवस्थामा छ। यद्यपि पछिल्लो समय स्थानीय संस्थाहरूले महिलाहरूको क्षमता विकासका लागि गाउँ–गाउँमा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न थालेका छन्।
सामाजिक विकास कार्यालय मुगुको आर्थिक सहयोग तथा महिला अधिकार केन्द्र मुगुको आयोजनामा सोरु गाउँपालिका, खत्याड गाउँपालिका लगायत तारापानी, सोरु, राउतडी बजार र रातापानीमा कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममार्फत दुई पालिकाका २२ वडामा बसोबास गर्ने २०० भन्दा बढी महिलाहरूलाई सहभागी गराइएको छ।
कार्यक्रममा महिला माथि हुने घरेलु हिंसा, बालबालिका बेचबिखन, बालविवाह, जातीय तथा सांस्कृतिक विभेद, छाउपडी प्रथा लगायत गाउँघरमा प्रचलित विभिन्न कुप्रथाहरू विरुद्ध कानुनी, मानसिक, शारीरिक र आर्थिक अधिकारका विषयमा जानकारी दिइएको थियो। साथै महिलाहरूलाई नेतृत्व विकास, विकास निर्माणमा सहभागिता र पुरुषसँग समान सहभागिता सुनिश्चित गर्ने विषयमा पनि अभिमुखीकरण गरिएको थियो।
महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकुमाया शाहीका अनुसार, यस्ता कार्यक्रमले महिलाहरूमा सकारात्मक परिवर्तन ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा स्थानीय सरकारमार्फत थप कार्यक्रम सञ्चालन गर्न पहल गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रममा सहभागी खत्याड गाउँपालिका–६ की प्रेमदेवी थापाले भनिन्, “यो कार्यक्रमले हामीलाई ज्ञानमूलक, व्यवहारिक र कानुनी रूपमा सशक्त बनाएको छ। अधिकार कसैले दिएर पाइँदैन, त्यसका लागि वैधानिक रूपमा माग्न र प्राप्त गर्नुपर्छ भन्ने कुरा सिक्यौं। अब हामीले स्थानीय तहसँग समन्वय गरी आयआर्जन र सीपमूलक तालिमका लागि पहल गर्नेछौं।”
खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले महिलाहरूलाई आत्मनिर्भर बन्न, नकारात्मक सोचबाट टाढा रही सकारात्मक कार्यमा एकजुट हुन आग्रह गरिन्। उनले महिलाहरूको हकहित सुनिश्चित गर्न स्थानीय तहबाट आवश्यक पहल भइरहेको जानकारी दिइन्।
त्यस्तै, खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले पालिकाबाट एकल महिला तथा दलित परिवारलाई स्वास्थ्य बीमा उपलब्ध गराउने र अन्य महिलाहरूका लागि आयआर्जन तथा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए।









