१८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना ६ वर्षपछि सञ्चालनमा
मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर जलविद्युत् आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि करिब ६ वर्षपछि मात्र विद्युत् उत्पादन सुरु भएको छ।
खत्याड गाउँपालिकाका वडा नं. १ देखि ११ सम्मका करिब पाँच दर्जन बस्तीका ४,२०० भन्दा बढी घरधुरीलाई लक्षित गरी यो आयोजना निर्माण गरिएको हो। आयोजनाको डीपीआर २०६९ सालमा तयार गरिएको थियो। २०७४ साल चैत ५ गते उत्पादनतर्फ र २०७५ साल भदौ ६ गते वितरणतर्फ बोलपत्र आह्वान गरिएको थियो।
२०७५ साल मंसिर १५ गते उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर विभिन्न कारणले ढिलाइ हुँदै करिब ६ वर्षपछि मात्र आयोजना सञ्चालनमा आएको हो।
कोभिड १९ महामारी तथा २०७९ साल असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण आयोजनाका नहर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। यद्यपि, हाल आयोजनाको करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ।
यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एशियाली विकास बैंकबाट करिब १९ करोड, गाउँपालिकाबाट २ करोड, माछापुच्छ्रे बैंकबाट ५ करोड तथा स्थानीय नागरिकको १० प्रतिशत लगानीसहित कुल २९ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
५०० किलोवाट क्षमताको यस आयोजनाबाट खत्याड गाउँपालिकाका ४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् भने छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका करिब १,२०० घरधुरीले पनि विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ। साथै, उत्पादन भएको अतिरिक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिएका छन्।
निर्माणको जिम्मा लिएको मेगा फेवा जेभीले सिभिल कार्यसहित अधिकांश काम सम्पन्न गरिसकेको छ। मुख्य विद्युत् लाइन सबै गाउँमा विस्तार भइसकेको छ भने घरघरमा वायरिङ गर्ने काम जारी रहेको छ। आयोजनाका सिभिल इन्जिनियर गजेन्द्र बमका अनुसार अब एक–दुई महिनाभित्र सबै घरधुरीमा विद्युत् सेवा पुग्नेछ।
स्थानीय बासिन्दाहरूका अनुसार, विद्युत् नहुँदा पहिले दियो बत्तीको भरमा रात बिताउनुपर्थ्यो, जसका कारण बालबालिकाको पढाइ र दैनिक कामकाज प्रभावित हुने गर्थ्यो। अहिले घरमै बिजुली बल्न थालेपछि जीवनशैलीमा ठूलो परिवर्तन आएको उनीहरू बताउँछन्।
बिराबगर जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेपछि खत्याड क्षेत्रका बासिन्दामा उज्यालोसँगै विकासको नयाँ आशा पलाएको छ। गाउँगाउँमा फैलिएको उज्यालोले शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।









