युद्ध लड्नकै लागि छ,महिनाको बच्चा खेरफालेकी गोरीकलाको उपाध्यक्ष पदमा उम्मेदवारी

जुम्ला ःसाविक मालिकाठाँटा गाविसको वडा नं. ३ र हालको तिला गाउँपालिका ९ जुम्लाको ढिपुगाउँ अहिले पनि पूर्वाधार विकास नभएको र सरकारी सेवा सुविधाको सहज पहुँच नभएको गाउँ हो । तत्कालीन शासन व्यवस्थाबाट उत्पीडित र उपेक्षित भएर होला, माओवादी सशस्त्र विद्रोह त्यो गाउँका लागि राजनीति चेतना वृद्धिको उत्प्रेरक बन्यो । पछि त्यो गाउँबाट दर्जनौं नागरिकहरु माओवादी युद्धमा पूर्णकालीन भएर लागे ।

युद्धको प्रभाव र चेतना शक्तिको विकास होला, विसं.२०४२ असार १९ गते अतिविकट ढिपु गाउँमा जन्मेकी गोरीकला बुढा (कल्पना) १५ वर्षको किशोर अवस्थामा २०५७ साउन २० गते माओवादीको जनमिलिसियामा होमिकी थिइन । उनको उमेर सानै भएपनि मालेमावादको उच्च विचारधारालाई आत्मसाथ गर्दै उनले जनताको मुक्तिका लागि क्रान्तिको बाटो रोजेको बताउछिन । युद्ध चरमोत्कर्ष पुग्दै थियो । उनले गण्डक अभियानका बेला युद्ध लड्नकै लागि आफ्नो छ महिनाको बच्चा खेर फालिन ।

त्यो बच्चा खेर गएको ६ दिनमै लडाईमा होमिएको तितो अनुभव सुनाउछिन । गण्डक क्षेत्रको लडाईमा दाहिने खुट्टाको साप्रोमा गोली लागेर बुढा घाइते मेत भइन । युद्ध मृत्युको भूमरी जस्तो भएपनि घाइते उनी बाँच्न भने सफल भएको बताउछिन ।
सेनाकै रुपमा काम गरेकी बुढा सेना समायोजनका बेला क्यान्टनमेन्टबाट २०६८ सालमा बहिर्गमन भएकी थिइन । त्यसपछि हालसम्म माओवादी राजनीतिमा सक्रिय हुँदै आएकी यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) तिला गाउँपालिकाबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन ।

उनले भनिन, अहिलेको यो व्यवस्था आउनु र उपाध्यक्ष पदमा उम्मेदवारी दिने दिन ल्याउनुमा आफ्नो रगत, पसिना, आँसु, सहिद दाजु जसबहादुर बोहोराको बलिदानी र माओवादी युद्धको ऐतिहासिक उपलब्धि भएको दावी गरिन । यो संघीय व्यवस्थामा अभ्यास गरिरहेका हरेक पार्टीले पहिलो माओवादीलाई प्राथमिकता दिएर जिताउनुपर्ने उनको धारणा छ ।

उनले भनिन, विभिन्न आरोह र अवरोह पार गर्दै युद्धको तुफानी रफ्तार र मृत्युसँग आँखा जुधाएर प्राप्त गरेको संघीय व्यवस्थामा तिला गाउँपालिकावासीले आफूलाई बहुमतले विजय गर्ने उनको विश्वास छ । उनले आम तिलाबासीलाई यो व्यवस्थामा आफ्नो संघर्षको मूल्यलाई बुझेर एक पटक जनताको सेवक हुने अवसर दिनका लागी उपाध्यक्ष पदमा आफु र आफ्नो सिंगो पाटीलाई जिताउन सबैमा हार्दिक अपिल गरेकी छन ।