चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण
जुम्ला ः स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते राष्ट्रिय निर्वाचन आयोगले घोषणा गरेको छ । निर्वाचन नजिकिरहँदा आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलले चुनाव केन्द्रीत कार्यक्रम तिव्रगतिमा अगाडी बढाई रहेका छन् ।
यिनै राजनीतिक दलहरुबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाकोे ध्यानाकर्षण गराइएको छ ।आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी जिल्लामा रहेका राजनीतिक दलहरुले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र विद्यालयमा आमसभालगायत चुनावी कार्यक्रम गर्ने सम्भावना भएकाले यस विषयमा गम्भीर भएर त्यस्ता गतिविधिलाई रोक्नु पर्ने माग गर्दै मानव अधिकार रक्षक सञ्जालले जुम्लाका सहायक प्रमुख जिल्ला प्रमिला रिजालसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो ।
उक्त ध्यानाकर्षणपत्र बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने उल्लेख गरिएको भएपनि सो कुराको कार्यान्वयन फितलो हुँदा बालबालिकाको अधिकार कुण्ठित हुनुका साथै विद्यालयमा नै राजनीतिक गिितवधि हुने पुरानो दृष्टान्त रहेको हुँदा यस विषयमा ध्यान दिन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
त्यस्तै ध्यानाकर्षणपत्र बुझ्दै जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले निकै गम्भीर बिषय रहेको र यसको समाधान खोज्न आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने बताईन ।
उनले निर्वाचनमा बालबालिकाको प्रयोग र विद्यालयमा राजनीतिक गतिविधि रोक्न तथा निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतले सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्रबुझाएका हुन ।ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मानवअधिकार रक्षक सञ्जालका संयोजक राजबहादुर महत, पत्रकार महासंघ जुम्ला अध्यक्ष नेत्रबहादुर शाही, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, नगर बाल सञ्जाल अध्यक्ष आकृति न्यौपाने र अल्पकालिन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।











