कालापहाडबाट जुम्ला फर्किर्दै लर्को
जुम्ला ः रोजगारीका लागि भारत गएका जुम्लाबासी फर्कने क्रम शुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुदै नेपाल फर्कने जुम्लाबासीको घुइचो लाग्न थालेको हो । गाउँमा रोजगारी नमिले पछि कामका लागि उनीहरु कालापहाड जाने गर्दछन ।
दशै लगतै कालापहाड पसेका जुम्लाबासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन । घरमै बसौँ रोजगारीका अवसर छैनन । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुदैँन । स्थानीय बिर्षबहादुर बुढाले भने,‘कालापहाड रहर होइन, बाध्यता हो ।’
उनले भने, हिउँदको सुख्खा सिजनमा खेतिपातीका लागि कुनै काम हुदैन ।बालीनाली लगाउनको लागि फागन महिनमै फर्कने गरेका छन ।घर फर्कदा सिमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो उनीहरुको छ ।जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा जनशक्ति कालापहाड जाने गरेका छन ।
गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुदैन । बिर्खबहादुरले भने,‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरिएको छ । भारतका अधिकांस सहरमा कर्णालीबासी भेटिने गरेका छन ।
जुम्लामात्रै होइन कर्णालीबाट हजारौँ युवा शक्ति कालापहाडको यात्रामा लाग्ने गरेका छन । कालापहाडमा सामान्य काम समेत गर्न बाध्य छन । अर्काको देशमा काम गर्दाको पीडा त छदैँछ,सिँजा गाउँपालिका ६ का नरबहादुर बुढाले भने,‘हरेक बर्ष सिमानामा निकै सास्ती हुने गरेको छ ।
गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश छन । यहाँका नागरिकको रोजगारीको प्रमुख गन्तब्य गन्तब्य भारत हो ।सबै युवा जनशक्ति भारतमा जान थालेपछि गाउँमा बालबालिका,महिला र बुढाबुढी मात्र देखिन्छन ।
कालापहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ अशुलिरहेका छन । बर्सेनि कालापहाड जान्छौँ, ज्याला मजदुरी गर्छौँ ।कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छौँ । तर पनि सुख शान्तिपुर्वक बस्न पाउँदैनौँ ।
कालापहाड गएका कर्णालीबासी फर्कन थालेपछि कर्णाली राजमार्गमा चल्ने सवारीलाई यात्रु बोक्न भ्याइनभ्याइ छ । सुनसान गाउँमा अहिले चमक देखिएको छ । कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ । कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन् । व्यवस्था परिवर्तन भएपनि दैनिकी फेरिएको छैन ।








