४० करोडको लगानीमा दोश्रो फर्मास्युटिकल्स प्रा.लि. संचालनमा आउदै


काठ्माडौ ।
डा. कुमार सन साहको नेतृत्वमा चिकित्सक र वितरक सहितको लगानीकर्ताहरुको लगानीमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवनियापुरमा ३ बिघाह क्षेत्रफल जग्गामा ४० करोडको लगानीमा दोश्रो फर्मास्युटिकल्स प्रालि उद्योग संचालनमा आउने भएको छ ।
मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरुलाई मुख्य बजार बनाएर औषधी वितरण गर्ने उद्योग व्यवस्थापनको योजना रहेको छ । यो उद्योगको मुख्य भवन निर्माण सम्पन्न भइसकेको छ ।
उद्योग व्यवस्थापनका अनुसार अहिले प्रयोगशाला निर्माणको कार्य भइरहेको छ । २०७७ असोजदेखि उत्पादन बजारमा ल्याउने योजनाका साथ निर्माण कार्य भइरहेको प्रबन्ध निर्देशक डा. दिनेश चौधरीले जानकारी दिए ।
उनका अनुसार, आँफैले सिफारिस गरेका औषधीको गुणस्तरियतामा समेत पूर्ण विश्वस्त हुनसक्ने अवस्था छैन । डा. चौधरीले भने, त्यसैले चिकित्सक, औषधी वितरकसहितको सहभागितामा गुणस्तरिय औषधी उत्पादन गर्ने लक्ष्य सहित उद्योग संचालनमा ल्याउँदैछौं ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको र औषधी व्यवस्था विभागले लागू गरेको डब्लुएचओले जिएमपि’ मापदण्ड अनुसार उत्पादन गरिनेछ ।
उद्योगबाट पहिलो चरणमा मल्हम, ट्याब्लेट, क्याप्सुल, झोल औषधी लगायत दुई दर्जन भन्दा बढी औषधी उत्पादन हुनेछ । दोश्रो चरणमा इन्जेक्शनको समेत उत्पादन शुरु गरिने प्रबन्ध निर्देशक डा. चौधरीले जानकारी दिए । यसअघि २०६७ सालदेखि नेपालगन्जको पहिलो फर्मास्युटिकल्स उद्योग पानस फर्मास्युटिकल्सले औषधी उत्पादन शुरु गरेको थियो ।
औषधी उत्पादनका अनुसार अहिले बजारमा थप दुई दर्जन भन्दा बढी औषधी उद्योग संचालनमा आउने तयारीमा छन् । अहिले संचालनमा रहेका ६० वटा औषधी उद्योगमध्ये अधिकांश काठमाडौं, बुटवल, भैरहवा, चितवन र वीरगंजमा संचालनमा रहेका छन् ।
स्वदेशमै औषधी उद्योगको संख्या थपिँदै गएपनि औषधीको आयातमा अझै पनि ठूलो रकम बाहिरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी बजारमा २५ अर्ब ७१ करोड रुपैयाँ बराबरको औषधी आयात गरिएको थियो ।
औषधी उत्पादक संघका अनुसार यो अवधीमा स्वदेशी उद्योगले जम्मा १८ अर्ब २५ करोड रुपैयाँ मूल्य बराबरको औषधी बिक्री गरेका छन् ।

सम्बन्धित समाचार