हुम्लामा खाद्यान्न ढुवानी सुरु

सिमकोट : खाद्य समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानमा खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट ढुवानी सुरु गरेको हो ।

लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गो एयर प्रालिले नीजि एयरको सीता एयरलाइन्सबाट ढुवानी सुरु गरेको जानकारी दिए ।  ढुवानीको जिम्मा पाएको एयर कार्गोले नीजि एयरलाइन्स मध्ये सीतालाई जिम्मा लगाउदा ढिला भएको थियो ।

शाखाले दैनिक दिन खाद्यान्न ढुवानीका लागि उक्त ढुवानीको जिम्मा पाएको एयर प्रालिलाई ताकेता गरेको जनाउँदै उनले बल्ल सुरु भएको बताए । यसअघि चार दिन मात्र खाद्यान्न ढुवानी गरेर सीताको जहाज काठमाडौं फर्केपछि त्यसयता ढुवानी कार्य बन्द भएको थियो ।

सीता एयर सिमकोटका इन्चार्ज छेपेल लामाले आठ वटा उडानबाट ९६ भन्दा बढी क्विन्टल  खाद्यान्न ढुवानी भएको बताए । उनले अब एउटा जहाज नेपालगञ्जमै रहने भएको कारण नियमित रुपमा खाद्यान्न ढुवानी हुने बताउँदै अन्य जहाज पनि मर्मतमा रहेको चाँडै निस्केपछि तीन वटा जहाजबाट ढुवानी हुने बताए । सीता बाहेक अन्य तारा र समिट एयरलाई ढुवानीको जिम्मा दिइएको छैन  ।

गत मंसिर १५ गतेबाट चार ढुवानी गरेर सुर्खेतबाट ३७ क्विन्टल र नेपालगंजबाट १३८ क्विन्टल मात्र ढुवानी गरेको थियो । यस वर्षका लागि नेपालगंजबाट चार हजार क्विन्टल प्रतिकेजी १०८ रुपियाँ र सु्र्खेतबाट छ हजार क्विन्टल प्रतिकेजी १०५ रुपियाँ ढुवानी दरमा जिम्मा उक्त एयर प्रालिले पाएको थियो ।

वितरणका लागि आवश्यक खाद्यान्न नहुँदा बिक्री गर्न नसकिएको बेला ढुवानी भएको खाद्यन्न वितरण गर्ने गरि मौज्दात भए सुरु गरिने शाखाले जनाएको छ ।