कर्णालीमा लाेपाेन्‍मुख राउटे समुदायको संख्या बढ्यो

सल्यान – ह्वात्तै मृत्युदर बढेपनि राउटेको संख्या बढेको छ । फिरेन्ते जीवन बिताइरहेका रहेका राउटे समुदायको पनि गणना भएको छ । स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका–१ वालुवासँग्रही बाँगी रह हुँदै भेरि किनारदेखि एक सातामै सोहि वडाको  घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय छ्यालिस घरधुरी रहेका राउटेको संख्या १४१ रहेको थियो ।

एक साता यता राउटे पुनःनगरको वडा ३ काँरागाउँमा सरेका छन् । सोहि क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ । हाल आएर राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरि १४४ को संख्या पुगेको गणक टोलीले जनाएको छ । गणक टोलि राउटे बस्तीमा दुई दिन लगाएर गणना गरेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिएका छन् ।

राउटेले आजभोलि वनको कन्दमूल खान छाडेका छन् । वनजङ्गल, खोलाकिनारमा अर्धनग्न कपडा लगाएर बस्ने गर्छन । पहिले–पहिले कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे ।

तरकारीका रुपमा कुभिण्डो, तिते पाथि, खोले सागलाई उसिनेर पकाउँथे । अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुगेको सहजै अनुमान लगाउन सकिन्छ । गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन भए पनि त्यसको खासै प्रभाव देखिएन ।

‘प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था गरिएको राउटे उत्थान संस्थाकी केन्द्रीय अध्यक्ष सत्यादेवि अधिकारीले बताइन् ।

सल्यान पश्चिम बसाइँ सरे पछि उनिहरुको मृत्यु दरमा भने केही कमी देखिएको छ । गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ। पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ। अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ ।

गणनामा केहीको संख्या बढेको भएपनि वर्षेनी राउटेको संख्या घट्दो क्रममा छ । सरकारले दिने भत्ताले उनीहरुको आहारा मदिरा नै देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ।

पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।

सम्बन्धित समाचार