चारैतिरबाट काबुल पसे तालिवानी लडाकु
आफगानिस्तानको विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेको छ ।अफगानिस्तानका मुख्य सहरहरु कब्जा गरेर तालिवान काबुलतर्फ अघि बढेको हो । विद्रोही लडाकुहरु चारैतिरबाट काबुल पसिरहेको रोयटर्सले जनाएको छ । तालिवानी लडाकुहरु झण्डा बोकेर अघि बढिरहेको र सडकमा गोलीको आवाज सुनिएको बताइएको छ ।
तालिवान नेताहरुले आफ्ना लडाकुलाई काबुलमा हिंसा नगर्न निर्देशन दिएका छन् । काबुल छाड्न चाहनेलाई सुरक्षित बाटोतिर जान अनुमति दिन र महिलाहरुलाई पनि सुरक्षित स्थानमा जान दिन निर्देशन गरिएको तालिवानका एक नेतालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
यता तालिवानले एक विज्ञप्ति जारी गरेर घना बस्ती भएको ठाउँमा जोखिम हुने भएकाले आफ्ना लडाकु दस्तालाई राजधानी काबुलको प्रवेश बिन्दुमा रहन निर्देशन दिएको छ ।
शहरको सुरक्षाको जिम्मेवारी अझै पनि सरकारकै नियन्त्रणमा भएको र सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि वार्ता भइरहेकाले लडाकुलाई राजधानी प्रवेश गर्ने नाकामा रहन निर्देशन दिएको बीबीसीले जनाएको छ ।
विज्ञप्तिमा अफगानी नागरिकलाई देशमै बस्न आग्रह गरिएको छ । तालिवानले सबैले चाहेको र स्वीकार्य हुने इस्लामी व्यवस्थाका लागि आफूहरु लडिरहेको पनि उल्लेख गरेको छ ।
यता अफगानी राष्ट्रपति कार्यालयले काबुल सरकारको नियन्त्रणमा रहेको दाबी गरेको छ । राष्ट्रपति अशरफ घानीले ट्वीटमार्फत छिटपुट गोलाबारी बाहेक काबुलमा हमला नभएको र स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेका छन् ।








