जुम्लामा बाढीपहिरोमा परेर आमा छोरा सहित तीन जनाको मृत्यु

जुम्ला ः जुम्लामा बाढी पहिरोले बगाएर एकै घरका आमा छोरा सहित तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढी पहिरोले बगाएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक युवन चौधरीका अनुसार मृत्यु हुनेमा ६० बर्षिय बिर्खे रावत,३५ बर्षिय जैसरी रावत र उनका १० बर्षका छोरा सन्देश रावत रहेका छन । बिर्खे रावत जैसरीको जेठाजु हुन् । सन्देश रावत जैसरीको छोरा हुन । सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा माथि बाट आएको बाढी र पहिरोले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने,‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला संगसंगै भएपछि उनीहरुलाई बगाएको रहेछ । सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए ।

राति अबेर सम्म पनि घर नपुगेपपछि घरपरिवारले खोजी कार्य थालेका थिए ।तर भेटाएनन । शुक्रवार वडानम्वर सातका वडाध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भएपनि बाढी पहिरो एक्कैसाथ आएर बगाएको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक चौधरीले खोलाबाट मृतक तीनै जनाको शव निकालिसकिएको बताए । उनले भने घटनास्थलमा प्रहरी गइर मुचुल्का गरेको छ । मृर्तक तिन जनाको शनिबार दाहास्स्ंकार गरिने छ ।