एमालेले मन्त्री थापालाई बर्खास्त नगरे संसद चल्न नदिने

सुर्खेत । नेकपा(एमाले)ले कर्णाली प्रदेश सभाको आठौं वर्षे अधिवेशन चल्न नदिने अडान राखेको छ । भौतिक पूर्वाधार मन्त्री रहेका अम्मर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको हो ।
आठौ अधिवेशनको पहिलो बैठकको कारवाही सुरु नहुँदै एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन देखिएका मन्त्री अम्मर थापालाई मन्त्री पदबाट हटाउनु पर्ने माग राखेका थिए । उनले थापा मन्त्री पदबाट नहटेसम्म संसदको कारवाही अगाडी नबढ्ने बताएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका संसद बैठक स्थगित गरिएको थियो ।
आधा घण्टा स्थगित भएको संसद पुनः दिउँसो पौने छ बजे बोलाएका थिए । स्थगित भएको पौने घण्टामा सभामुख राजबहादुर शाहीको रोहवरमा नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस र राप्रपाको वैठक बसेको थियो । त्यो बैठकमा कुनै सहमति भएन् ।
बैठक सुरु हुनासाथ एमालेका सांसद करबिर शाहीले मन्त्री थापालाई पदबाट नहटाएसम्म संसद बैठक अबरुद्ध हुने जानकारी गराएपछि अर्को बैठक भोली २५ गते दिउँसो २ बजेका लागि तोकिएको छ ।
कर्णाली प्रदेश सरकारले असार एक गते बजेट ल्याउने र त्यसअघि प्रि–बजेट छलफल गराई नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको थियो ।

सम्बन्धित समाचार