कोरोना संक्रमित गाउँपालिका अध्यक्षले नै स्वास्थ्यका मापदण्ड पालना गरेनन्


जुम्ला । जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कोरोना महामारीको स्वास्थ्य मापदण्ड पालना नगरेको आरोप लागेको छ । कोरोना संक्रमित अध्यक्ष शाहीले स्वास्थ्य मापदण्ड विपरित काम गरेको आरोप लागेको हो ।
गाउँपालिका अध्यक्ष शाहीलाई यहि जेठ ९ गते कोरोना( कोभिड–१९) संक्रमणको पुष्टी भएको थियो । कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेका शाही कोरोना रिर्पोट निगेटिभ नआउँदै उनी जेठ १७ गते कर्णाली प्रदेश सरकारसँग योजना माग्ने भन्दै ९ दिनमै गाडी चढेर सुर्खेत पुगेका थिए । उनलाई १७ गते संक्रमित भएको ९ दिन पुगेको थियो । सुर्खेत पुगेका शाहीले कोरोना पुष्टी भएको १० औं दिन (१८ गते) कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई भेटेको तस्बीर सामाजिक संजालबाट सार्वजनिक भएको थियो ।


जेठ ९ गते अध्यक्ष शाही र वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोरोना(कोभिड–१९) संक्रमण पुष्टी भएको हिमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रतन रावतले जानकारी दिए । ‘उहाँहरुमा ऐन्टीजेन बिधिबाट परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो ।’ उनले भने,‘कोरोना पुष्टी भएपछि उहाँहरु होम आइसोलेसनमा बस्नु भएको थियो ।’
अध्यक्ष शाहीलाई कोरोना पुष्टी भएको ९ दिन मै प्रदेश राजधानी सुर्खेतमा गएको भन्ने खवर पाएको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बताइन् । ‘अध्यक्ष, जेठ ९ गते कोरोना संक्रमित भएपछि मलाई अध्यक्षको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर होम आइसोलेसन मै बस्नु भएको थियो ।’ उनले भनिन्,‘योजना माग्ने भनेर प्रदेश जानुभयो भन्ने खवर नागरिकबाटै आएको हो । यस बिषयमा मलाई केही जानकारी छैन ।’


गाउँपालिका अध्यक्ष शाहीलाई फोन सम्पर्क गरी बुझ्दा आफु संक्रमित भएको १४ दिनसम्म होम आइसोलेसनमा बसेको बताए । अध्यक्ष शाहीले आफ्नो रिपोट निगेटिभ आएपछि मात्रै प्रदेश राजधानीमा आएको बताए । शाहीले आफुलाई कोरोना संक्रमण भएको ९ दिनमै प्रदेश राजधानी सुर्खेत आएको भन्ने प्रचार झुटो भएको बताए ।
कोरोना संक्रमित गाउपालिकाका अध्यक्ष शाहीले अनेरास्ववियु ( क्रन्तिकारी ) कर्णाली प्रदेशका संयोजक अमरजंग शाही , नेकपा माओवादी केन्द्र जुम्ला जिल्लाका अध्यक्ष बिरबहादुर कुवँरसहित एउटै गाडीमा कर्णाली प्रदेश पुगेका थिए ।


उनीसँगै कोरोना पुष्टी भएका अन्य नागरिकहरु गाउँपालिकाले बनाएको आइसोलेसनमा बसेका थिए । तर, अध्यक्ष शाही होम आइसोलेसनमा बसे कारणले उनको सिको गरेर अरु संक्रमित भएका नागरिक पनि होम आइसोलेसनमा बसेका थिए ।
कोरोना संक्रमित भएका बिशाल शाहीले होम आइसोलेन सुरक्षित बसेको बताए । ‘अध्यक्ष जस्तो जिम्मेवरी मान्छेले नै स्वास्थ्यका मापदण्ड पालन नगरेको देख्दा अचम्म लाग्छ,’ उनले भने ।


अध्यक्ष शाही होम आइसोलेसनमा बस्दा पनि आइसोलेसनको बसाई कुनै भोज भतेरभन्दा कम नभएको अध्यक्ष शाहीका एक छिमेकीले बताए । ‘दैनिक मासु किनेर लिन्थे साँझ पाटी हुन्थ्यो ।’ उनले भने,‘ठुला बडालाई लागेको कोरोना के अरुलाई नसर्ने रहेछ ।’
कोरोना संक्रमित गाउँपालिकाका अध्यक्ष शाहीले अनेरास्ववियु (क्रन्तिकारी ) कर्णाली प्रदेशका संयोजक अमरजंग शाही , नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्लाका अध्यक्ष बिरबहादुर कुवँरसहित एउटै गाडीमा कर्णाली प्रदेश राजधानी सुर्खेत पुगेको नागरिकहरुले आरोप लगाएका छन् ।
जुम्लामा कोरोना संक्रमित बढ्दै गएका कारणले निषेत्राज्ञा जारी गरिएको छ ।