जुम्ला अस्पतालमा एक संक्रमित महिला सहित मृत्यु हुनेको संख्या पाँच पुग्यो

जुम्ला अस्पतालमा एक संक्रमित महिला सहित मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गुठिचौर गाउँपालिका – ३ की ७० वर्षीया एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाको उपचारको क्रममा मृत्यु भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराइले आइतबार दिउँसो एक जना महिलाको मृत्यु भएको बताए । उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै हालसम्म जुम्ला अस्पतालमा पाँच जनाको मृत्यु भएको बताए ।उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई श्वासप्रश्वासको निकै समस्या थियो । अक्सिजनको मात्रा निकै कम थियो । प्रवक्ता भट्टराइले भने, ‘अक्सिजन दिएर भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । बचाउनको लागि अधिकतम प्रयास भएको थियो । तर बचाउन सकिएन ।’

जुम्लामा दुई साताको अन्तरालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लामा उपचार गराइ रहेका कालिकोट तिलागुफाका २, सुर्खेत घर भइ कालिकोटमा व्यवसाय गर्दै आएका एक जना र जुम्लाका दुई जना संक्रमितको मृत्यु भएको हो ।
उनले भने, ‘दुई सातामा पाँच जना संक्रमितको मृत्यु भएको छ । जसमा दुई जना कालिकोट तिलागुफाका हुन् । एक जना सुर्खेतका बासिन्दा हुन् । जुम्ला हिमा गाउँपालिकाको एक पुरुष र गुठिचौर गाउँपालिका एक महिला संक्रमितको मृत्यु भएको हो ।’
कोरोना संक्रमणकाकारण मृतकको संख्या बढि रहेकोले सचेत रहन आग्रह गरिएको प्रवक्ता भट्टराइले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुुुसार कोरोना संक्रमण भएका तर १४ दिन आइसोलेसनमा बसेर रिर्पोट नेगेटिभ आइसकेका जुम्ला गुठीचौर – ४ का अर्को पुरुषको शनिबार मृत्यु भएको थियो । तर उनको कोभिडका कारणले मृत्यु भएको भन्न नसकिने प्रवक्ता भट्टराइले बताए । उनले भने, ‘कोभिडले फोक्सोमा समस्या आएर मृत्यु भएको हो । रिर्पोट नेगेटिभ आइसकेकोले कोरोनाका कारण मृत्यु भन्न सकिने अवस्था रहेन । ’उनी दमका रोगी थिए ।
एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । हाल प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमितको उपचार भइराखेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार बैशाख ८ देखि हालसम्म संक्रमितको संख्या ४ सय ८ जना रहेको छ । निको भएर घर फर्किनेको संख्या १ सय ८१ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।