२६ जना प्रमुख फेरिए फेरीएन शिक्षालय मुहार

दिलमाया शाही
जुम्ला ः कर्णाली प्राविधिक शिक्षालयका प्रमुख २६ जना फेरिएका छन ।तर शिक्षालय मुहार फेरीएको छैन। नेपालको पहिलो कर्णाली प्राविधिक शिक्षालय निकै जीर्ण बनेको छ । यहाँका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन । हिड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा पशुबस्तु चरण क्षेत्र झै देखिन्छ । २०३७सालमा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने हेतुले स्थापना भएको यो शिक्षालय निकै भद्रगोल र अव्यवस्थित हुन पुगेको छ । अहिले पनि शिक्षालयमा खानेपानीको चरम अभाव छ । जसका कारण विद्यार्थी, शिक्षक, प्रशिक्षक दुषित पानी पिउन बाध्यछन । ४० बर्ष पहिले बनेका भौतिक संरचना पुर्न निर्माण त के मर्मत समेत हुन सकेका छैनन । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न, पढ्न विवश छन । नाला निकै फोहोर छन ।
दरबन्दी अनुसारका शिक्षक छैनन । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको कर्णाली प्राविधिक शिक्षालय निकै छाडा र उजाड बनेको स्थानीय बताउँछन ।स्थानीय कर्णबहादुर भण्डारीले भने , प्राविधिक शिक्षालयको मर्मत संभार र संरक्षणमा कसैको चासो पुगेको छ्रैन ।उनका अनुसार हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ ।
भवन भत्किएका छन । घेरवार नहुँदा शिक्षालय असुरक्षित छ । तर सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो बिषय अरु हुन सक्दैन । ६ सय ५२ रोपनी क्षेत्रफल भित्र रहेको कर्णाली प्राविधिक शिक्षालय निकै उदेग लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेको अवस्थामा छ । शिक्षालयका शौचालय निकै फोहोर छन । संघीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ ।
हरेक कार्यालय प्रमुखको रिर्पोटमा यहाँको विकास राम्रो भएपनि अवस्था नफेरिएको स्थानीय बताउँछन । कर्णाली प्राविधिक शिक्षालयका प्रिन्सीपल टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउँछन । फागुन १८ गतेदेखि प्रिन्सीपलको रुपमा आएका उनले शिक्षालयको प्रगति आशा लाग्दो नभएको बताए ।उनले भने,“अबको पाँच बर्षमा यहाँको मुहार फेर्ने गरि कार्ययोजना ल्याउन लागेको छु । तत्काल ४० बर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफ ागर्ने देखि आधुनिक शौचालय निर्माण सम्म हुने छन । शिक्षालय परिसर हरियाली हुनेछ । पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको हुनेछन । यो मेरो जिम्मेवारी हुनेछ । साथ सबैको होस । ”
शिक्षालयमा खाली दरबन्दी पदपुर्तिको लागि तत्काल पहल हुने उनले बताए । उनले भने,“कसैबाट दबाव नआएको अवस्थामा शिक्षालयले परिक्षा लिएर दरबन्दी अनुसारका शिक्षक प्रशिक्षक राख्नेछ । व्यापक दबाव आउने अवस्था भएर लोकसेवा आयोगलाई जिम्मेवारी दिएर भएपनि खोली कोटा पुरा गरिनेछ । प्रिन्सीपल फेरिन्छन । शिक्षक, प्रशिक्षक, कर्मचारी, विद्यार्थी बदलिन्छन । तर प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ ।
प्राविधिक शिक्षालय संग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबै संग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्रिन्सीपल थापा बताउँछन । हरेक बर्ष गरिने क्रियाकलापको टिपोट हुनेछ । बास्तविक प्राविधिक शिक्षालय जुम्लामै छ । हरेक हिसावले यो प्राविधिक शिक्षालय अघि नै छ भन्ने सन्देश छर्न तयार रहेको उनले बताए ।
अहिले डिप्लोमा तर्फ ४ बिषयको पढाई भइरहेको छ । २०६५ मा डिप्लोमा शिभिल इन्जीनियर,२०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४ सालमा फरेस्ट्री र २०७७ सालमा फार्मेसी पठनपाठन भइराखेको छ । आगामी दिनमा डिप्लोमा भेटनरी तर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएके छ । यो कक्ष सफल भएको खण्डमा एग्रो इन्जीनियर पढाइका लागि लविङ शुरु हुनेछ ।अन्डर एसएलसी तर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ ।
सिएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउनको लागि सर्कुलर गरिसकेको छ । यो बर्ष यी दुई बिषयमा भर्ना पनि लगिएको छैन ।पहिलेका केही महत्वपुर्ण तथा प्राविधिक शिक्षालयमा हुनु पर्ने गुणको अभाव छ । अहिले यहाँ उत्पादित जनशक्ति देशै भरी छरिएर काम गरिरहेको छ । तर प्राविधिक उत्पादन गर्ने उद्योगको रुपमा रहेको प्राविधिक शिक्षालय दिनप्रतिदिन जीर्ण बन्दै गइराखेको छ ।संघीय व्यवस्थामा तीन तहको सरकार छ । तीनै तहको सरकार प्राविधिक शिक्षालयको समृद्धि र विकासका लागि जिम्मेवार नभएको जुम्लाबासी बताउँछन । बजेट अभावका कारण छटपटीरहेको शिक्षालयलाई पुर्नजीवन दिनको लागि हरेक सरोकारवालाको महत्वपुर्ण भुमिका हुने भन्दै यो शिक्षालयको अवस्था सुधारका लागि सबैको साथ आबश्यक रहेको जुम्ला बासीको भनाइ छ ।








