फरक विचार राखेको भन्दै तीन कर्मचारी बखास्त


जाजरकोट ः केपी समुहमा आवद्ध नभएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीको ठाडो निर्देशनमा तीन जना कर्मचारीलाई बखास्त गरिएको छ ।केपी ओली समुहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआईएस अपरेटर पवन शर्मा,सरोज वली, र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बखास्त गरेका हुँन् ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले टिप्पणी उठाएर मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बखास्त गर्दा अधिकृतले नै गर्नुपर्ने भएपनि मेयर आफैले सदर गरेका छन् । तीन जना कर्मचारीलाई सोधिएको पत्रमा भनिएको छ , तपाइहरु प्रचण्ड र माधव समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बखास्त नगर्ने भनि प्रश्न सोधिएको थिए ।
सोधिएको स्पटीकरण दिएका तीनै जनाले आफूहरु कुनै पक्षमा नलागेको तर विगत देखि नै प्रेस संगठनमा रहेको उल्लेख गरेका थिए । उनीहरुले प्रेस संगठनमा रहेपनि काममा बाधा कुनै पनि नपारेको पत्रमा उल्लेख गरेका छन् । स्मरण रहोस , पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाइ दिएका मेयरले त्यसको एक हप्ता पछि प्रचण्ड र माधव गुट निकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनै जना कर्मचारीको नाम देखेपछि बखास्त गरेका हुँन् ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आज एक विज्ञप्ति जारी गरि आस्थाकै आधारमा कर्मचारी बखास्ती गर्नु कुनै हालतमा राम्रो काम नभएको बताउदै तुरुन्तै यो कारवाही फिर्ता गर्न आग्रह गरिएको छ । आज मात्र जिल्ला प्रशासन कार्यालयमा समेत उजुर दत्र्ता गरिएको छ । फागुन १७ गते स्पष्टीकरण माग गरेकोमा उनीहरुले स्पष्टीकरण पेश गरेको अवस्थामा समेत फागुन १८ गते कर्मचारीलाई बर्खास्त गरेको प्रति यूनियनको गम्भीर ध्यानआकर्षण भएको समेत बताएको छ ।

आफ्नो नेतृत्वको निकायमा फरक राजनितीक आस्था राखेकै आधारमा निजहरुको रोजगारी खोस्ने कार्यको घोर निन्दा गर्नुका साथै त्यसरी गरिएको प्रतिसोध तथा पूर्वाग्रह बाट प्रेरित कारबाही फिर्ता लिएर अविलम्व काममा लगाउन हुनुका साथै आगामी दिनहरुमा समेत यस्ता गतिविधीहरु नगर्न हुन हामी जोडदार माग गर्दछौँ, भनी अध्यक्ष वीरबहादुर चन्द्र, सचिव राम सिंह ठकुरी,उपाध्यक्ष कृष्णाबहादुर खत्री र कार्यवहाक अध्यक्ष दलवीर पुनद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ । फरक आस्था राखेकै निउमा कर्मचारीलाई बर्खास्त गर्नु पूर्वाग्राही ढंगले काम गरेको जानकारहरु बताउँछन् ।