जुम्लामा मादक पदार्थ सेवन पछि बेहोस भएका युवाको उपचारका क्रममा मृत्यु

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ भण्डारीवाडाका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ८ भण्डारीवाडा निवासी पदम भण्डारीका २१ वर्षीय छोरा अनिल भण्डारी, १८ वर्षीय गोपाल सार्की, २२ वर्षीय सन्तबहादुर भण्डारी र २३ वर्षीय जीवन बुढा मादक पदार्थ सेवन गरी अनिल भण्डारीको घरमा सँगै सुतेका थिए।

प्रहरीका अनुसार साउन ७ गते बिहान करिब ८ बजे सन्तबहादुर भण्डारी घरको आँगनमा बेहोस अवस्थामा फेला परेका थिए। उनको नाक र मुखबाट रगत बगिरहेको देखिएपछि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि ल्याईएको थियो।

अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज स्थित न्यूरो मेडिकल अस्पताल पठाइएको थियो। उपचारकै क्रममा साउन ११ गते बिहान ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सम्बन्धित समाचार