वर्षौंदेखि जीर्ण बनेको कालै,कुलाहा झोलुङ्गे पुल रास्वपा मुगुद्वारा मर्मत, स्थानीयलाई राहत
मुगु जिल्लाको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको विशेष पहलमा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुलका कारण स्थानीय नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए। पुल मर्मतसँगै सोरु गाउँपालिकाका विभिन्न बस्तीका हजारौँ नागरिकलाई राहत पुगेको छ।
वि.सं. २०४४ सालमा निर्माण गरिएको उक्त झोलुङ्गे पुल विगत आठ वर्षदेखि अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा थियो। पुलको जीर्ण अवस्थाले सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का दर्जनौँ बस्तीका स्थानीय प्रत्यक्ष प्रभावित भएका थिए। साथै वडा नं. ६ र ७ का बासिन्दाले घाँस, दाउरा संकलन तथा पशुचौपाया चराउन यही पुल प्रयोग गर्दै आएका थिए। सोही मार्ग हुँदै तातोपानी र तातोपानी गुफा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो।
स्थानीय वडा कार्यालय, गाउँपालिका, प्रदेश तथा संघीय सरकारसमक्ष पटक–पटक पुल मर्मतका लागि आग्रह गरिए पनि कुनै निकायबाट आवश्यक पहल हुन सकेको थिएन। फलस्वरूप स्थानीयहरू ज्यानको जोखिम मोलेर पुल प्रयोग गर्न बाध्य थिए।
यसैबीच, रास्वपा मुगुका जिल्ला भौगोलिक अनुगमन समिति तथा जनगुनासो केन्द्रका संयोजक नन्दबहादुर मल्लको जन्मदिनको अवसर पारेर पार्टीले पुल मर्मत गर्ने निर्णय गरेको हो। सोरु क्षेत्रमा अनुगमन तथा नागरिक भेटघाटका क्रममा पार्टी टोलीले पुलको दयनीय अवस्था देखेपछि कुनै पनि बेला मानवीय वा भौतिक क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मर्मत कार्य अघि बढाएको जनाएको छ।
संयोजक मल्लले आफ्नो जन्मदिनको अवसरमा पुल मर्मतका लागि आवश्यक नट–बोल्ट, किला, जाली, पाता लगायतका सम्पूर्ण सामग्री सहयोग गर्नुभएको थियो। त्यसपछि पार्टीका नेता तथा कार्यकर्तासहित १५ जनाको टोलीले लगातार १० घण्टा श्रमदान गरी पुललाई पुनः सुरक्षित रूपमा सञ्चालनयोग्य बनाएको हो।
रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्नु पार्टीको प्राथमिकता रहेको बताउनुभयो। संयोजक नन्दबहादुर मल्लले ठूला आश्वासनभन्दा पनि नागरिकका साना तर महत्त्वपूर्ण समस्या समाधान गर्दा जनजीवन सहज बन्ने भएकाले सबैको सहमतिमा श्रमदानमार्फत पुल मर्मत गरिएको जानकारी दिनुभयो।
पुल मर्मतपछि सोरु गाउँपालिका–९ का स्थानीय राजेन्द्र दमाईले खुशी व्यक्त गर्दै रास्वपा मुगु परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “विकासका ठूला नारा लगाउनुभन्दा नागरिकका साना समस्यामा सहयोग गर्नु नै ठूलो काम हो। लामो समयदेखि सरकारी निकायले बेवास्ता गरेको पुल मर्मत भएपछि अब हामी सुरक्षित र सहज रूपमा आवतजावत गर्न पाउने भएका छौँ।









