सुर्खेतका सबै स्थानीय तहले भू–उपयोगसम्बन्धी प्रतिवेदन पाए
सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहहरुले भू–उपयोगसम्बन्धी कागजात पाएका छन् ।
विहिबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको हो ।
नापी विभागले आयोजना गरेको कार्यक्रmमा जिल्ला समन्वय समिति (जिसस) का संयोजक छविलाल सिग्देलले वीरेन्द्रनगरमा विहीबार आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख÷उप–प्रमुखहरुलाई भू–उपयोग नक्सा, डाटा तथा रिर्पोट हस्तान्तरण गरेका हुन ।
प्रतिवदेनमा ९ वटै स्थानीय तहका वन, खेतीयोग्य जमीन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमीनको तथ्याङ्क समेटिएको छ ।
प्रतिवेदन हस्तान्तरण गर्नुहुँदै जिसस संयोजक सिग्देलले योजनाबिनै भूमीको प्रयोगले खेतीयोग्य जमीन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे ।
‘नापीको प्रतिवेदनले स्थानीय तहलाई राष्ट्रिय भू–उपयोग नीति अनुसार भूमीको प्रयोग गर्न मद्दत पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘कृषि, वन, आवास, व्यवसाय, सांस्कृतिक–पुरातात्विक, नदी, ताल तलैया क्षेत्रको व्यवस्थित संरक्षण तथा विकासका लागि महत्वपूर्ण आधार बनेको छ ।’
नापी विभागका इन्जिनियर विक्रम रेग्मीले स्थानीय तहलाई डिजिटल डाटासमेत उपलब्ध गराएको जानकारी दिए ।
राष्ट्रिय भू–उपयोग नीति अनुसार स्थानीय तहलाई भू–उपयोग नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने उनको भनाई थियो ।
कार्यक्रममा सुर्खेतका सबै स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरुको सहभागिता थियो । वीरेन्द्रनगरकी उप–प्रमुख मोहनमाया ढकालले नापीसम्बन्धी नयाँ डाटाले आफूहरुलाई नगरपालिकाको गुरुयोजना निर्माण गर्न टेवा पुग्ने बताए ।