जुम्लामा सातदिने निःशुल्क योग, ध्यान तथा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

जुम्ला :  आयुर्वेदिक स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा तथा चन्दननाथ योग साधना केन्द्रको समन्वय र सहजीकरणमा सातदिने निःशुल्क योग, ध्यान तथा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार शिविर यही २०८३ साल जेठ २७ गतेदेखि असार ३ गतेसम्म चन्दननाथ योग साधना केन्द्र, राजासिम रङ्गशाला पछाडि सञ्चालन हुनेछ। शिविर प्रत्येक दिन बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म सञ्चालन गरिनेछ।

शिविरमा नियमित रूपमा योग, ध्यान, प्राणायाम, भजन कीर्तन, हवन, प्राकृतिक चिकित्सा तथा जडीबुटीजन्य चियाको सेवन गराइनेछ। साथै विभिन्न कृषि विज्ञ तथा जडीबुटी विज्ञहरूले स्थानीय रैथाने बाली, पोषण, स्वास्थ्य तथा दैनिक जीवनमा प्रयोग हुने मसला तथा जडीबुटीहरूको महत्व र उपयोगिताबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

शिविरका सहभागीहरूलाई सात दिनसम्म निःशुल्क ‘अमृत भोजन’को व्यवस्था गरिएको आयोजकले जनाएको छ। भोजनमा जुम्लाका रैथाने तथा अर्गानिक उत्पादनहरू जस्तै मार्सी चामल, चिनो, कागुनो, फापर, स्थानीय सिमी लगायतका खाद्यवस्तु प्रयोग गरिनेछ। त्यसैगरी स्थानीय कृषकहरूले उत्पादन गरेका दूध, दही, मोही, घिउ, मह लगायतका पौष्टिक खाद्य सामग्री पनि समावेश गरिनेछ।

आयोजकका अनुसार स्वास्थ्य, योग, प्राकृतिक जीवनशैली, पोषण तथा रैथाने खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा सहभागी हुन इच्छुक सबै जात, धर्म, वर्ण, लिङ्ग तथा उमेर समूहका व्यक्तिहरूले जेठ २६ गतेभित्र आफ्नो नाम दर्ता गराउनुपर्ने जनाइएको छ। नाम दर्ताका लागि मोवाइल नम्बर ९८४८३१९३४१ मा सम्पर्क गर्न सकिनेछ।

जिल्लाबाहिरका पालिकाबाट सहभागी हुने कम्तीमा दुई जना व्यक्तिले सम्बन्धित पालिकाको सिफारिससहित आएमा साँझको भोजन तथा बसोबासको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

आयोजकले स्वास्थ्य, आध्यात्मिक विकास, पोषण शिक्षा तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा केन्द्रित यस शिविरबाट अधिकतम लाभ लिन इच्छुक सबैलाई सहभागी हुन आग्रह गरेको छ।

सम्बन्धित समाचार