“देउता आयो”कि सामूहिक मानसिक प्रभाव ?

जुम्लाः जुम्लाको पातारासी गाउँपालिका स्थित ऋणोमक्ष माध्यमिक विद्यालय शुक्रबार एकाएक त्रासमा परिणत भयो। बिहानको प्रार्थना लाइनमै छात्राहरू कराउन, रुन, काँप्न र “देउता आयो” भन्दै ढल्न थालेपछि विद्यालय प्रशासनले तत्काल विद्यालय बन्द गर्यो।
विद्यालयका प्रधानाध्यापक कृष्ण बुढाका अनुसार बिहीबारदेखि सुरु भएको घटना शुक्रबार झन् जटिल बनेको थियो। “पहिले दुई–चार जना मात्र थिए, पछि एकपछि अर्को विद्यार्थी कराउन थाले। शिक्षकले सम्हाल्नै गाह्रो भयो,” उहाँले भन्नुभयो। विद्यालयका अनुसार शुक्रबार मात्रै १८ जना छात्रा र एक जना छात्रमा यस्तो समस्या देखिएको थियो।
घटना सामान्य बिरामी अवस्था जस्तो थिएन। केही विद्यार्थी चिच्याउँदै भाग्ने, केही अनियन्त्रित रूपमा रुने, कतिपय काँप्ने र केही “देउताको बोली” जस्तो आवाज निकाल्ने अवस्थामा पुगेका थिए। घटनापछि विद्यालयमा भय र अन्योल फैलिएको थियो।
स्थानीय समुदायका केही व्यक्तिले यसलाई “देउता लागेको” घटनाका रूपमा हेरेका छन्। गाउँघरमा यस्ता घटनालाई धार्मिक आस्था र अदृश्य शक्तिसँग जोडेर व्याख्या गर्ने परम्परा पुरानै हो। तर विज्ञान र प्रविधिले संसारलाई कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र अन्तरिक्ष अनुसन्धानसम्म पुर्याइसकेको समयमा जुम्लाका विद्यालयमा भइरहेका यस्ता घटनाले नयाँ बहस जन्माएको छ ।के यो साँच्चै अलौकिक शक्ति हो ? कि मानसिक तथा सामाजिक प्रभावको परिणाम ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार यो अवस्था “मास कन्भर्जन डिसअर्डर” अर्थात् सामूहिक मानसिक प्रभाव हुन सक्ने सम्भावना बढी छ। उहाँका अनुसार तनाव, डर, सामाजिक दबाब, अत्यधिक गर्मी, कमजोर मानसिक अवस्था र समूहमा फैलिने मनोवैज्ञानिक प्रभावका कारण यस्ता घटना देखिन सक्छन्।
“एक जनाबाट सुरु भएको डर वा असामान्य व्यवहार समूहमा छिट्टै फैलिन्छ। विशेषगरी किशोरावस्थाका बालबालिकामा यस्तो बढी देखिन्छ,” उहाँले बताउनुभयो। तर प्रश्न यतिमै सीमित छैन।
यदि यो मानसिक समस्या मात्रै हो भने किन एउटै विद्यालयका धेरै विद्यार्थीमा एकै समयमा उस्तै व्यवहार देखिन्छ ? किन यस्ता घटना प्रायः दुर्गम क्षेत्रका विद्यालयमै बढी सुनिन्छन् ? के यसमा सामाजिक दबाब, पारिवारिक तनाव, धार्मिक विश्वास, विद्यालयीय वातावरण वा स्वास्थ्यसम्बन्धी अन्य कारण पनि जोडिएका छन् ?
शिक्षाविद्हरू भन्छन्,अहिलेको पुस्ता मोबाइल, इन्टरनेट र डिजिटल दुनियाँसँग जोडिए पनि ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे चेतना अझै कमजोर छ। धेरै अभिभावक र विद्यार्थीले मानसिक तनावलाई रोगभन्दा “देउता” वा “छाया”सँग जोडेर हेर्ने प्रवृत्ति अझै बलियो छ।
केही दिनअघि मात्रै सिंजा गाउँपालिका कै शान्तिजन आधारभूत विद्यालयमा पनि यस्तै घटना भएको थियो। त्यहाँका विद्यार्थी स्कुलको पेसाकमरुने, कराउने र बेहोस हुने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
लगातार यस्ता घटना दोहोरिन थालेपछि अब सामान्य चर्चा होइन, गहिरो अनुसन्धानको आवश्यकता देखिएको छ। मनोविज्ञान, समाजशास्त्र, स्वास्थ्य विज्ञान र स्थानीय संस्कृतिलाई एकै ठाउँमा राखेर अध्ययन नगरेसम्म यस्ता घटनाको वास्तविक कारण पत्ता लगाउन कठिन हुने विज्ञहरू बताउँछन्।
विद्यालयमा देखिएको यो रहस्यमय अवस्था केवल अन्धविश्वासको कथा हो या विज्ञानले अझै पूर्ण रूपमा नबुझेको सामाजिक–मनोवैज्ञानिक समस्या ? जुम्लाका विद्यालयमा उठेको यो प्रश्न अहिले गाउँदेखि सामाजिक सञ्जालसम्म बहसको विषय बनेको छ।








