नगर प्रमुख भामले सार्वजनिक गरे चार वर्षे उपलब्धि, नागरिकका सुझावलाई आत्मसाथ गर्ने प्रतिबद्धता

जुम्ला :हिमाली जिल्ला मुगुका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णुकुमार भाम ले आफ्नो चार वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन्।

“समृद्ध छायाँनाथ रारा नगरपालिका, समृद्ध नगरवासी” भन्ने मूल नारासहित नगर प्रमुख भामले आफू निर्वाचित भएदेखि प्रत्येक वर्ष जेठ ७ गते वार्षिक उपलब्धि नागरिकसमक्ष सार्वजनिक गर्दै आएका छन्। यसैक्रममा चार वर्षसम्म भएका कामको विवरण मुगुको गमगढी बजारस्थित झण्डा चोकमा आयोजित औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा राजनीतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्रशासन, प्रहरी र सर्वसाधारण नागरिकको उपस्थिति रहेको थियो।

नगर प्रमुख भामका अनुसार नगरपालिकाले शिक्षा, पूर्वाधार, कृषि, रोजगार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न काम सम्पन्न गरेको छ। शिक्षा क्षेत्रमा ३२ स्थानमा पक्की विद्यालय भवन निर्माण गरिएको छ भने ३३ स्थानमा विद्यालय घेरबार तथा शौचालय निर्माण गरिएको छ।

त्यसैगरी ६५ स्थानमा “एक घर, एक धारा” कार्यक्रम सञ्चालन गरिएको, २६ स्थानमा कृषि योग्य जमिनमा घेरबार गरिएको, २१ स्थानमा आरसिसी सडक निर्माण गरिएको तथा २३ स्थानमा सिँचाइ कुलो निर्माण गरिएको जानकारी दिइएको छ।

नगरपालिकाले १६ स्थानमा कोल्ड स्टोर निर्माण, २१ स्थानमा तटबन्धन, वडा नं. १० र ११ मा बस्ती विस्तार लगायतका काम पनि सम्पन्न गरेको जनाएको छ। सामाजिक सुरक्षातर्फ १ हजार २ सय ७५ दलित घरपरिवारलाई दशौँ भत्ता वितरण गरिएको छ भने १ हजार १ सय जनालाई उपचार खर्च उपलब्ध गराइएको बताइएको छ।

युवालाई लक्षित गर्दै १ सय २० जनालाई रोजगार कार्यक्रममार्फत अवसर प्रदान गरिएको, ८० जनालाई कम्प्युटर तालिम, ४८ जनालाई हाउस वायरिङ तालिम तथा ५० जनालाई सिलाइकटाइ तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

यसका साथै पालिकाले ३५ वटा विभिन्न ऐन, कानुन, कार्यविधि, निर्देशिका तथा मापदण्ड निर्माण गरेको छ। लोकसेवा तयारी कक्षा सञ्चालन, “एक मुख, दश रुख” अभियान, ७ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, पुल तथा बेलिब्रिज निर्माण, श्रमदान, सरसफाइ, खेलकुद तथा कृषि मेला प्रदर्शनी जस्ता कार्यक्रम पनि सञ्चालन गरिएको नगर प्रमुख भामले बताए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले नगरपालिकाको कामबारे सुझाव, जिज्ञासा र आलोचना समेत राखेका थिए।

युवा समाजसेवी लोकेन्द्र मल्ल ले नगरपालिकाले युवालाई सीप र रोजगारका क्षेत्रमा लगानी गरे पनि त्यसको वास्तविक उपलब्धि स्पष्ट हुनुपर्ने बताए। उनले “सीमेण्टको विकास मात्र होइन, स्थानीय स्रोत–साधनको उपयोगमा पनि ध्यान दिनुपर्छ” भन्दै सुझाव दिए।

त्यस्तै, छायाँनाथ रारा नगरपालिका–१ का नरेश शाही ले विगत तीन वर्षदेखि उठाउँदै आएको प्रश्नको अझै समाधान नभएको गुनासो गरे। उनले पूर्वाधार निर्माणमा गुणस्तरहीन बालुवा प्रयोग हुने गरेको, नगर क्षेत्रमा नियमित सरसफाइ नभएको तथा नागरिक फोहोर कर तिर्न तयार भए पनि व्यवस्थापन प्रभावकारी हुन नसकेको बताए।

कार्यक्रममा संघीय सरकारले आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरे पनि नगरपालिकाले कार्यान्वयन नगर्दा शिक्षा क्षेत्रमा समस्या परेको विषय पनि उठाइएको थियो। शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, सांस्कृतिक परम्परा र पर्यटन विकास लगायत विषयमा व्यापक छलफल भएको थियो।

नगर प्रमुख भामले कार्यक्रममा आएका सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै आगामी दिनमा नगरवासीसँग सहकार्य गरेर थप विकास निर्माणका कामलाई अगाडि बढाइने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री ले विकास निर्माणमा स्थानीय तहका प्रमुख मात्रले सबै काम गर्न नसक्ने उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता, सकारात्मक सोच र सहकार्य आवश्यक रहेको बताए। उनले स्थानीय सरकारले नागरिकका दैनिक समस्या, पूर्वाधार, सडक तथा समग्र विकासमा बढी ध्यान दिनुपर्ने धारणा राखे।