मानव अधिकार सुनिश्चितताका लागि स्थानीय तहसँग आयोगको अन्तरक्रिया

जुम्ला :राष्ट्रिय मानव अधिकार आयोगको २६औँ स्थापना दिवस ९जेठ १३० को सन्दर्भमा मानव अधिकारका सवालमा स्थानीय तहका सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजना तथा तातोपानी गाउँपालिकाको समन्वयमा मिति २०८३ जेठ ७ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख श्रीमती कल्पना नेपाल आचार्यको अध्यक्षता, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख श्री गौरीनन्द आचार्यको प्रमुख आतिथ्यता तथा तातोपानी गाउँपालिकाका अध्यक्ष श्री नन्दप्रसाद चौलागाईँको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा तातोपानी गाउँपालिकाका उपाध्यक्ष श्रीमती रेवती रावल, आठबीस नगरपालिका राकमकर्णाली दैलेखका पूर्व उपप्रमुख श्रीमती दीपा बोहरा, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, आमा समूह, किशोरी समूह, बाल क्लब, किडाक, युएनडिपी, सेभ द चिल्ड्रेन, सर्वोदय नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, मानव अधिकार रक्षक, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोगकी प्रमुख कल्पना नेपाल आचार्यले मानव अधिकारको परिचय, पृष्ठभूमि, सिद्धान्त, संवैधानिक अधिकार तथा आयोगको कार्यादेशबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै आयोगले आर्थिक वर्ष २०८१र८२ मा गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था, अनुसन्धान, अनुगमन तथा अन्य संवर्धनात्मक गतिविधिबारे जानकारी गराउँदै जुम्ला र मुगु जिल्लामा आयोगको अनुगमनबाट देखिएका मानव अधिकारको अवस्था, चुनौती र समाधानका उपायबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए। आगामी दिनमा मानव अधिकार सुनिश्चितताका लागि सामूहिक प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार