जेनजी आन्दोलनको नाममा संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको बताएका छन् ।

भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो । संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलहरूमाथि हमला गरिएको थियो । तर, लोकतन्त्र अजेय र एमाले अजम्मरी छ ।

उनले जेन–जी आन्दोलनपछि पुराना नेता र दलका दिन गए भनेर भाष्य निर्माण गर्न खोजिए पनि उर्लिएको जनसागरले त्यसलाई चिरेको बताए । उनले देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने कदम अघि बढिरहेको पनि बताए ।