जेनजीका माग नै हाम्रा माग भएकाले एजेन्डा मिलेको छ:सहसंयोजक नेपाल

जुम्ला :नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न धारका पार्टीहरूलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरिएको बताउनुभएको छ। जनतामा उत्साह, भरोसा र इमानदार नेता–कार्यकर्ताको पार्टी निर्माण गर्ने उद्देश्यका साथ नेकपा अघि बढेको उहाँको भनाइ छ।
आज वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले जनताको पक्ष र देशको हितमा काम गर्ने पार्टीका रूपमा नेकपालाई अघि बढाइएको बताउनुभयो। देशको स्वतन्त्रता, स्वाधीनता र देशभक्तिको रक्षा गर्ने पार्टीका रूपमा नेकपालाई लिइएको दाबी उहाँले गर्नुभयो। जनताको अधिकार सुनिश्चित गर्दै जनतालाई सार्वभौम बनाउने पक्षमा नेकपा रहेको उल्लेख गर्दै उहाँले लोकतन्त्र र गणतन्त्र बिना जनतालाई देशको मालिक बनाउन सम्भव नहुने बताउनुभयो।
हरेक महत्वपूर्ण समयमा सही ठाउँमा उभिएर आफूहरूले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उहाँले जनताको पीडा, महिलाको वेदना र युवाको बेरोजगारीजस्ता विषयमा पार्टी जिम्मेवार हुनुपर्ने बताउनुभयो। भ्रष्टाचार, कुशासन, स्वार्थी व्यवसाय र व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ। विगतका कमजोरी सुधार गर्दै अघि बढ्ने संकल्प गरिएको उल्लेख गर्दै उहाँले राम्रा कामको प्रशंसा र नराम्रा कामको प्रतिरोध गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो।
कम्युनिष्ट सरकारको कार्यकालमा विकास–निर्माणका उल्लेखनीय कामहरू भएको उल्लेख गर्दै ‘केही पनि भएन’ भन्ने प्रचार गलत भएको उहाँले स्पष्ट पार्नुभयो। जनताको सेवा र देशको विकास नै पार्टीको प्रमुख उद्देश्य रहेको दाबी गर्दै उहाँले सिंगो देशको विकासका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो।
“बजेटअनुसार काम र परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भइरहेको छ। हामीले उत्पादन गरेका वस्तुहरू विदेश पठाउने, विद्युत् बिक्री लगायतका विषयमा पनि संवाद चलिरहेको छ,” उहाँले भन्नुभयो।
योजना विनाका काम असफल हुने भन्दै उहाँले देश बनाउने स्पष्ट योजना र दृढ इच्छाशक्ति आफूहरूसँग रहेको बताउनुभयो। विकासका लागि हरेक विकल्प खोजिरहेको उल्लेख गर्दै उहाँले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइने आश्वासन दिनुभयो। “अब युवाहरू विदेश जानुपर्ने अवस्था छैन। आफ्नै देशमा बसेर रोजगारी सिर्जना गर्न सकिन्छ। युवा साथीहरू हामीलाई विश्वास गर्नुहोस्, हामी तपाईँहरूसँग मिलेर अघि बढ्ने स्पष्ट योजना लिएर आएका छौँ,”उहाँले भन्नुभयो। अन्त्यमा, जनताको साथ र भरोसा बढेमा मात्र शक्ति आर्जन हुने र योजना कार्यान्वयन सहज हुने सहसंयोजक नेपालको भनाइ रहेको छ।








