नेतृत्व र विचार सही भए मात्र शक्ति आर्जन गरेर सही ठाउँमा पुगिन्छ : संयोजक प्रचण्ड
जुम्ला । विगतका गल्तीबाट शिक्षा लिँदै अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले बताउनु भएको छ । नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउने उद्देश्य पूरा गर्ने अभियानमा कर्णालीले देखाएको माया र समर्थनले आफू उत्साहित भएको उहाँले बताउनुभयो ।
मधेस तथा अन्य स्थानमा सम्पन्न सभाहरू ऐतिहासिक मात्र नभई नेकपालाई नयाँ उचाइमा पुर्याउने खालका भएको उहाँको भनाइ थियो । कर्णाली नेपाली सभ्यताको जननी भएको स्मरण गराउँदै उहाँले वर्तमान शासकहरूले कर्णालीलाई चिन्न नसकेको आरोप लगाउनुभयो । अब नेकपाले कर्णालीका जनताको अपेक्षा पूरा गर्ने दृढ संकल्पसहित अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
कर्णाली जडीबुटी र जलस्रोतको महत्वपूर्ण भण्डार भएको क्षेत्र भएकाले यहाँको समृद्धि जनताको समाजवादबाट मात्र सम्भव हुने बताउँदै उहाँले यही संकल्प लिएर पार्टी अघि बढेको जानकारी दिनुभयो । १४ भन्दा बढी पार्टीहरू एकैपटक एकताबद्ध भई विगतका गल्ती र कमजोरी सच्याउँदै अघि बढ्ने संकल्प गर्नु इतिहासमै पहिलो पटक भएको उहाँले उल्लेख गर्नुभयो ।
नेकपाका सभा, बैठक र एकताको दृश्य देखेर अन्तर्राष्ट्रिय जगतबाट समेत बधाई आएको बताउँदै उहाँले एमालेभित्र रहेका धेरै मित्रहरूले पनि यो बाटो सही भएको भन्दै शुभकामना दिएको जानकारी दिनुभयो । विदेशिएका युवालाई स्वदेशमै फर्किएर काम गर्न सक्ने वातावरण निर्माण गर्न पार्टी सक्रिय रूपमा लागेको उहाँले बताउनुभयो ।
२०४१/४२ सालदेखि नै पार्टी एकताको पक्षमा माधव नेपाल र आफूबीच छलफल सुरु भएको स्मरण गर्दै उहाँले जनयुद्ध सुरु भएको दुई वर्षपछि नै देश विकास र नेपाललाई कसरी उचाइमा पुर्याउने भन्ने विषयमा निरन्तर संवाद हुँदै आएको बताउनुभयो । एमाले र माओवादीबीचको सहमतिपछि मात्र १२ बुँदे सहमति सम्भव भएको र ती प्रयासहरू करिब ४० वर्षदेखि निरन्तर भइरहेको उहाँको भनाइ थियो ।
जेन–जी (Gen Z) पुस्ताबाट भएको आन्दोलनले आफूहरूलाई आत्मसमीक्षा गर्न प्रेरित गरेको बताउँदै संयोजक प्रचण्डले जेन–जीका मुद्दालाई अहिलेसम्म नेकपाले मात्र पूर्ण समर्थन गरेको दाबी गर्नुभयो । धेरै जेन–जी युवाहरू नेकपामा जोडिनु खुसीको विषय भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री सुसिला कार्की र जेन–जीबीच भएको सहमतिका बुँदाहरू नेकपाका विचारसँग धेरै मिल्ने भएकाले आफूहरू उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।
जनताको एकता नै नेकपा भएको बताउँदै उहाँले नेतृत्व र विचार सही भए मात्र शक्ति आर्जन गरेर जनताको पक्षमा काम गर्न सकिने स्पष्ट पार्नुभयो । भ्रष्टाचारविरुद्धको अभियानदेखि विद्युत् व्यापार र नागरिकताको विषयमा पार्टीले महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उहाँले नेकपा नै नेपाली जनताको पार्टी भएको दाबी गर्नुभयो ।









