जुम्लामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला सम्पन्न

जुम्ला :जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकार र त्यसको महत्व उजागर गर्ने उद्देश्यले कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला गरिएकाे छ।चन्दननाथ नगरपालिका र रेरास परियोजनाअन्तर्गत LI-BIRD र विश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक तथा प्राविधिक सहयोग र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा साे मेला आयाेजना गरिएकाे हाे।

चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न मेलामा औषधीय गुण भएका जडीबुटी, रैथाने बालीका बीऊ तथा ती बालीबाट तयार गरिएका विभिन्न परिकारको प्रदर्शनी गरिएको थियो। मेलाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

शनिबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले फापरको सेलरोटी हालेर मेलाको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले रैथाने बाली लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै बाहिरबाट आयातित विषादीयुक्त खाद्यान्नको प्रयोग बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे।“यो प्रदर्शनीले किसानलाई पुनः रैथाने बाली उत्पादनतर्फ आकर्षित गर्ने विश्वास लिएको छु,” उनले भने।

किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारीकरण गर्ने वातावरण निर्माणमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने आचार्यको भनाइ थियो।

चन्दननाथ नगरपालिका कृषि विकास शाखा प्रमुख शरद पोखरेलका अनुसार सडक नाटक र देउडामार्फत बालीको महत्वबारे सन्देश दिँदै आएको नगरपालिकाले यसपटक परिकार प्रदर्शनीमार्फत स्वाद चखाउने नयाँ अभ्यास थालेको हो।
“यहाँ उत्पादन हुने पोषिला खाद्य बस्तु हुँदाहुँदै पनि बाहिरबाट आयातित खाद्यान्न प्रयोग भइरहेको छ,” उनले भने, “अब आफ्नै उत्पादन उपभोग गर्ने र बचेको बाहिर पठाउने सन्देश फैलाउन यो मेला आयोजना गरिएको हो।”

प्रदर्शनी मेलामा १२ वटा स्टलमार्फत फापरको रोटी, फापरको सेल, केक, कोदोको रोटी, कागुनोको खिर, ओखर, स्याउ र आलुबाट बनेका परिकार प्रदर्शनमा राखिएका थिए। साथै पछिल्लो समय लोप हुँदै गएका बालीका बीऊ पनि प्रदर्शनीमा राखिएको थियो।

मार्सी चामल, सिमी लगायत जिल्लाभर उत्पादन हुने रैथाने बालीबाट बनेका परिकार मेलाका मुख्य आकर्षण बनेका थिए।

उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले रैथाने खाद्य परिकारलाई बजारसम्म पुर्‍याउन गुणस्तरीय उत्पादन, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुपर्ने बताए।
“निर्यात त भइरहेको छ, तर गुणस्तरमा अझै सुधार आवश्यक छ,” उनले भने।मेलामा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाभित्रका किसानको सहभागिता रहेको थियो। सडक नाटक र देउडामार्फत रैथाने बालीको संरक्षणमा जोड दिनुपर्ने माग पनि किसानहरूले राखेका थिए।

त्यस्तै चन्दननाथ नगरपालिका र रेरास परियोजनाअन्तर्गत LI-BIRD र विश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक तथा प्राविधिक सहयोगमा, कृषि विकास कार्यालय जुम्लाको समन्वयमा आयोजित मेलामा औषधीय गुण भएका जडीबुटी, रैथाने बालीका बीउ तथा ती बालीबाट तयार गरिएका विभिन्न परिकारको प्रदर्शनी गरिएको थियो।

मेलाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमा टेवा पुग्ने विश्वास LI-BIRD का परियोजना संयोजक बुद्ध बिकले व्यक्त गरेका छन्। उनले जुम्लामा उत्पादन हुने रैथाने बालीको महत्वबारे जानकारी दिईएकाे थियाे ।रैथाने बालीको संरक्षण, प्रवर्द्धन तथा बजारीकरणका क्षेत्रमा रेरास परियोजना ले जुम्लाका स्थानीय तहसँग सहकार्य गर्दै निरन्तर काम गर्दै आइरहेको जनाइएको छ