जुम्लामा मध्यराति घरमै हतियारधारी समूहको हस्तक्षेप, प्रहरीले समयमा सुरक्षा नपठाएको भन्दै स्थानीयको ध्यानाकर्षण
जुम्ला:जुम्लाकाे चन्दननाथ नगरपालिका–६ बोहोरा गाउँ जाने पुरानाे बाटाे नजिकै बसेका जयबहादुर कठायतको घरमा मंसिर १९ गते राति करिब १:२० बजे चार जना अज्ञात व्यक्तिहरू धारीलो हतियारसहित प्रवेश गर्ने प्रयास गरेका घटना सार्वजनिक भएको छ। करिब आधा घण्टासम्म ढोका फुटाउन खोज्दै बसेका ती व्यक्तिहरू स्थानीयको चर्को आवाज र भीड बढेपछि मात्र फरार भएका छन्।
घटनाका बेला घरधनी जयबहादुर कठायतले लगातार दुई पटक जिल्ला प्रहरी कार्यालय जुम्लाकाे १००मा फोन गरी तत्काल सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरे पनि प्रहरीको टोली समयमा नपुगेको स्थानीयले आरोप लगाएका छन्। प्रहरी कार्यालय सदरमुकामदेखि करिब १ किलोमिटर दूरीमै वस्ती रहे पनि बिहानसम्म कुनै सुरक्षा टोली नआएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
घटनापछि कठायतले छिमेकीहरूलाई खबर गरेपछि स्थानीय युवक तथा घरधनीहरू घटनास्थलमा पुगेका थिए। उनीहरू पुग्नेबित्तिकै ती अज्ञात समूह भागेका थिए। तर, प्रहरी नआएकोले वस्ती अत्यन्त असुरक्षित भएको भन्दै सामूहिक रूपमा असन्तुष्टि जनाइएको छ।
सुरक्षामा देखिएको लापरवाही, दोहोरिएका आपराधिक गतिविधि र रातको समयमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै वडावासीहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामा सामूहिक ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन तथा बोहोरा गाउँमा स्थायी सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।
ध्यानाकर्षण पत्रमा जयबहादुर कठायत, पार्वती महत, मिना कुमारी गुरुङ (धरला), गोरखबहादुर थापा, हर्षबहादुर शाही, मानबहादुर रोकाया, सितादेवी रावल, एकमाया कठायत, टीकाराज आचार्य, गीता कुमारी शाही र दलबहादुर रोकायालगायत स्थानीयको संयुक्त हस्ताक्षर रहेको छ।
स्थानीयले प्रश्न गरेका छन्“सदरमुकाम नजिकैको वस्तीमा समेत प्रहरी समयमा नआउने हो भने हाम्रो सुरक्षा कहाँ छ? के घटना घटिसकेपछि मात्र प्रहरी आउने हो भन्ने जस्ता गुनासाे गरेका छन।









