जुम्लामा जैविक विविधता र स्थानीय खाद्य परिकार प्रदर्शन मेला हुने
जुम्ला– जुम्लामा कृषि जैविक विविधता तथा स्थानीय खाद्य परिकारहरूको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना हुने भएको छ। यही मंसिर २७ गते चन्दननाथ नगरपालिका–७ मा आयोजना हुने मेलासम्बन्धी जानकारी नगरपालिकाको कृषि विकास शाखाले पत्रकार सम्मेलनमार्फत दिएको हो।
पत्रकार सम्मेलनमा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन, मौलिक बाली र तिनबाट बनेका परिकारको प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनका अनुसार लोप हुँदै गएका रैथाने बालीहरू र ती बालीबाट तयार गरिने परिकारहरूको प्रदर्शनी मेलामा प्रमुख आकर्षण रहनेछ।
“स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवद्र्धनसँगै किसान, उपभोक्ता तथा सरोकारवालाबीच प्रत्यक्ष समन्वय र संवाद हुने वातावरण मेलाले बनाउनेछ,” बुढ्थापाले बताए। जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनर्जीवन अहिलेको प्रमुख आवश्यकता भएको पनि उनले उल्लेख गरे।
कृषि विकास शाखाका प्रमुख सरद पोखरेलका अनुसार सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले समुदायको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेकाले मेलाले जनस्तरमा महत्त्वपूर्ण सचेतना फैलाउने अपेक्षा गरिएको छ। मेलाले जैविक कृषि प्रवर्द्धन, परम्परागत प्रजातिको संरक्षण र कृषिमा नयाँ सम्भावनाको पहिचानमा टेवा पुग्ने विश्वास गरिएको उनले बताए।
मेलामा जुम्ला जिल्लाको कृषि पहिचानलाई मजबुत बनाउन किसानका नवीन उत्पादन, मौलिक बिउ–विजन तथा स्थानीय खाद्य परिकारहरू एकै स्थानमा प्रदर्शन गरिनेछ। चन्दननाथ, तातोपानी र पातारासी नगरपालिका भित्रका किसानहरूले १२ वटा स्टल मार्फत सहभागिता जनाउनेछन्। साथै कृषि सहकारीले पनि आफ्ना रैथाने परिकारहरूको प्रदर्शन गर्नेछ।
त्यसैगरी चन्दननाथ र तातोपानीका अभिभावक तथा विद्यार्थीलाई रैथाने बालीमा आधारित दिवाखाजाबारे जानकारी दिने कार्यक्रमसमेत मेलाले समेटेको छ। यसले विद्यालयहरूमा रैथाने दिवाखाजाको नियमित प्रयोगलाई सहज बनाउने आयोजकहरूको विश्वास छ।
जैविक विविधता, परम्परागत संस्कृति, पोषण र स्थानीय उत्पादनलाई एकै ठाउँबाट जोड्ने प्रयासका रूपमा जुम्लाको कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला आगामी दिनमा जिल्लाको कृषि तथा सांस्कृतिक पहिचान बलियो बनाउन महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।






