दिमा आमा घरलाई न्यानो सिरक र डस्ना सहयोग


जुम्ला :हिंसा पीडित महिलाहरूका लागि सुरक्षित आवास सुविधा प्रदान गर्दै आएको ‘दिमा आमा घर’ जुम्लालाई न्यानो कपडा तथा आवश्यक सामाग्री सहयोग गरिएको छ। सर्वोदय नेपालले सञ्चालन गरेको साहस परियोजना अन्तर्गत आर्थिक सहयोग जुटाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दिमा आमा घरकी अध्यक्ष दिलमाया शाहीलाई ६ केजीको फाइभर सिरक, १० केजीका ६ वटा डस्ना, अन्य ६ वटा सिरक तथा तन्ना–खोलसहितको सामग्री हस्तान्तरण गर्नुभयो। सर्वोदय नेपालका कर्मचारी भानु लिम्बुका अनुसार करिब रु ३९ हजार ३ सय बराबरको न्यानो सिरक, डस्ना, तन्ना र खोल उपलब्ध गराइएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले दिमा आमा घरले छोटो समयमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले समाजलाई हिंसा–रहित बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना आचार्य नेपालले दिमा आमा घरकी अध्यक्ष तथा पत्रकार दिलमाया शाही नेतृत्वको टिमले हिंसा विरुद्धको अभियानमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उनले यस्ता संरचनालाई राज्यले प्राथमिकताका साथ समर्थन गर्न आवश्यक रहेको बताउनुभयो।

सर्वोदय नेपाल जुम्लाद्वारा सञ्चालित ‘हाम्रो साहस परियोजना’ अन्तर्गत परम्परागत सामाजिक हानिकारक अभ्यासविरुद्धको कार्यक्रममार्फत गराइएको सामग्री हस्तान्तरण कार्यक्रममा सर्वोदय नेपालका उपाध्यक्ष छोर्गे सामु लामा तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको उपस्थितिमा न्यानो कपडा औपचारिक रूपमा दिमा आमा घरलाई प्रदान गरिएको हो।

सम्बन्धित समाचार