बालुवाटारमा सरकार र दलबीच ‍निर्वाचनबारे छलफल, चुनाव हुनेमै एमालेको आशंका

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे सरकार र राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएको छ। अपराह्न साढे ४ बजेदेखि छलफल सुरु भएको थियो ।

छलफलमा नेताहरूले पालैपालो बोलेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। आजको संवादमा एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रकी नेता पम्फा भुसाल, नेमकीपाका प्रेम सुवाल, कांग्रेस महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राखेका छन्।

उनले भने, ‘निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।’

छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री थापा र प्रवक्ता डा प्रकाशशरण महत पनि सहभागी थिए। त्यस्तै नेकपा एमालेबाट उपमहासचिव प्रदीप ज्ञवाली पनि सहभागी भएका थिए ।

भुसालका साथै वर्षमान पुन, रास्वपाबाट सचिवालय सदस्य सोविता गौतम, जसपा नेपालबाटप्रकाश अधिकारी पनि सहभागी थिए ।

जनमत पार्टीबाट चन्दनकुमार सिंह र एसबाट उपाध्यक्ष प्रकाश ज्वाला पनि सहभागी थिए ।

आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।