जुम्लाका टेकेन्द्र कार्की : नयाँ गुप्तचर प्रमुखको जिम्मेवारीमा उदय

जुम्ला : राष्ट्रिय   अनुसन्धान(गुप्तचर निकाय) देशको संवेदनशील र रणनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने संस्था हो। यही निकायको नेतृत्वको जिम्मेवारी हालै टेकेन्द्र कार्कीले पाएका छन्। प्रधानमन्त्री सुसीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आइतबार बसेको बैठकमार्फत उनलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको हो।

जुम्लाबाट सिंहदरबारसम्म

टेकेन्द्र कार्की जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाका बासिन्दा हुन्। दूरदराजको कर्णाली क्षेत्रबाट राजधानीसम्मको यात्रा गर्दै उनले गुप्तचर क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। विभागमा करिब ३ दशक लामो अनुभव बोकेका उनले २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए।

प्रतिस्पर्धीलाई पछि पार्दै नेतृत्व

यसअघि विभागको प्रमुख हुतराज थापा ३ वर्षे कार्यकाल पूरा गरी भदौ २८ मा अनिवार्य अवकाशमा गएपछि पद रिक्त थियो। थापाकै ब्याचका कार्कीले यसपटक आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पार्दै विभागको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

राजनीतिक परिवेश र नियुक्ति

हालैको सत्ता परिवर्तनपछि बनेको सुसीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले टेकेन्द्र कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गर्‍यो। यो निर्णय सरकारको नीति–दिशा, सुरक्षा दृष्टिकोण र गुप्तचर संरचनामा आउने सुधारसँग पनि जोडिएको मानिन्छ।

विभागको भूमिका र चुनौती

राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय सिंहदरबार परिसरमा छ भने मुलुकभर यसको शाखा संरचना फैलिएको छ। विभागमा हाल २,२६५ जना कर्मचारी र एजेन्टहरू कार्यरत छन्। उनीहरूको प्रमुख जिम्मेवारी भनेको विभिन्न क्षेत्रका गतिविधि, सुरक्षा जोखिम, आपराधिक क्रियाकलापदेखि राज्यको स्थिरतामा असर पार्ने सूचनासम्म संकलन गर्नु हो।

नवनियुक्त प्रमुख टेकेन्द्र कार्कीका लागि यो नेतृत्व अवसर मात्र नभई ठूलो चुनौती पनि हो। बदलिँदो राजनीतिक परिस्थिति, आन्तरिक सुरक्षा चुनौती र अन्तर्राष्ट्रिय परिवेशमा नेपालको सुरक्षालाई सुदृढ बनाउने दायित्व उनको काँधमा आएको छ।

टेकेन्द्र कार्कीको नियुक्तिले विभागमा नयाँ उर्जा र अनुभवको संचार हुने अपेक्षा गरिएको छ। जुम्लाजस्ता दुर्गम भूभागबाट उदाएका कार्कीले अब सिंहदरबारमै बसेर मुलुकको सुरक्षासम्बन्धी सूचनाको संवेदनशील जिम्मेवारी सम्हाल्नेछन्। उनकाे आगामी कार्यकाल विभागलाई मजबुत र प्रभावकारी बनाउन कति सफल हुनुहुन्छ  भन्ने कुरा समयले  नै देखाउनेछ।