कर्णाली राजमार्ग फेरि अवरुद्ध : गगनेमा २३ पटक पहिरो

जुम्ला : कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका–१ स्थित गगने खोलामा शनिबार राति गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा बन्द भएको हो।

चार दिनअघि मात्र कालिकोटकै कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो। तर सोही राति करिब ९ बजे गगने खोलामा करिब एक सय मिटर माथिबाट ढुंगामाटोसहितको ठूलो पहिरो खस्दा राजमार्ग पुनः ठप्प भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार हाल मोटरसाइकलसमेत गुड्न नसक्ने अवस्था छ। रातो माटो र ठूलो ढुंगाले सडक पुरिएको हुँदा तत्कालै सफाइ गर्न कठिनाइ भएको छ। ट्राफिक प्रहरी कार्यालय मान्मका अनुसार असारयता यतिखेरसम्म गगने खोलामै २३ पटक पहिरो खसेको छ।

यस्तै, कालिकोटकै फुगाड खोलामा पानी बढ्दा कर्णाली करिडोर पनि बन्द भएको छ। तीन वर्षअघि बाढीले बगाएको बेलिब्रिज अझै पुनर्निर्माण नभएकाले वर्षा सुरु हुनेबित्तिकै यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

राजमार्ग र करिडोर दुवै मार्ग एकसाथ अवरुद्ध भएपछि सुर्खेततर्फ जाँदै गरेका सवारीसाधन विभिन्न स्थानमा अलपत्र परेका छन्। यात्रुहरू घण्टौँ बाटैमा रोकिनुपरेको छ।

स्थानीयवासीले वर्षा सुरु हुनासाथ बारम्बार अवरुद्ध हुने सडकको दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा, अस्थायी पर्खाल वा छोटो अवधिका निर्माणले समस्या समाधान नहुने भएकाले दिगो संरचना आवश्यक छ।