सूचना प्रवाहलाई प्रभावकारी बनाउन जुम्लामा सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया

जुम्ला — सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन जुम्लामा सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकारको कार्यान्वयन, सेवाग्राहीलाई सूचना दिने प्रक्रिया र पत्रकार–सूचना अधिकारीबीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ शर्माले नागरिकलाई सूचना पाउने हक सुनिश्चित गर्न सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिए। उनले विकास निर्माणमा ढिलासुस्ती भए पत्रकारहरूले निगरानी र खबरदारी गर्नुपर्ने उल्लेख गर्दै भने, “यहाँका विकासलाई गुणस्तरीय बनाउन पत्रकारहरूको भूमिका अपरिहार्य छ।”

नापी कार्यालयका प्रमुख नवीन भट्टले अब कार्यालयका सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध हुने जानकारी दिए। उनका अनुसार, नागरिकले घरमै बसेर आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सक्ने सुविधा पाउनेछन्।

जुम्लाका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरूले आफ्ना कार्यालयमा भइरहेको सेवा कार्यान्वयनबारे जानकारी प्रस्तुत गरेका थिए। पत्रकारहरूले सूचना समयमा नआउँदा गलत बुझाइ वा अफवाह फैलिन सक्ने भएकाले अद्यावधिक, प्रमाणमा आधारित र स्पष्ट सूचना दिनुपर्ने सुझाव दिएका थिए।

साथै, आधिकारिक वेबसाइट, फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत सूचना प्रवाहलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रतिनिधि तथा चन्दनाथ नगरपालिकाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।