जुम्लाका टक्क नेपालीले घरको छतमा बनाए आफ्नै सिप र सिर्जनाले टलक्क टल्किने जहाज

जुम्लाको विकट बस्ती तातोपानी गाउँपालिका–५ ऐरेनीमा बसोबास गर्ने टक्क नेपालीले असाधारण सिर्जना प्रस्तुत गरेका छन्। कुनै प्राविधिक शिक्षा नलिएका, न त औपचारिक तालिम नै लिएका टक्क नेपालीले आफ्नै प्रयासमा घरको छतमा जहाज निर्माण गरेका छन्। आफूले बनाएको जहाजमा नेपाल एयरलाइन्स लेखेका छन् । अहिले यो जहाज अवलोकन गर्न र तस्वीर खिच्न स्थानीयदेखि बाहिरी पर्यटकसम्म आउन थालेका छन् ।

सिमेन्ट र फलामको सरियाबाट बनेको जहाज
टक्क नेपालीले आफ्नो घरको छतमा सिमेन्ट, फलाम, सरिया, पालिस र रंगजस्ता सामग्री प्रयोग गरेर १८ फिट लामो र ३ फिट गोलाई भएको जहाज निर्माण गरेका छन्। उनले यो जहाज बनाउँदा झण्डै अढाई महिना को समय लागेको उनले बताए । जहाज निमार्णमा हालसम्म करिब १ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । निर्माण कार्यमा उनका भतिज धनबहादुर नेपालीले सक्रिय साथ दिएका छन्।
स्थानीयबाट “वैज्ञानिक“को उपनाम
स्थानीयस्तरमा “वैज्ञानिक“ उपनामले चिनिने टक्क नेपाली विद्युतीय सामग्रीको पसल सञ्चालन गर्दै आएका छन्। उनले यसअघि यूट्युब हेरेर प्याराग्लाइडिङ पनि बनाएर सफल परीक्षण गरेका थिए। अब उनी साँच्चिकै उड्ने जहाज बनाउने योजनामा छन्। “प्याराग्लाइडिङ बनाएर उडेको छु, अब उड्ने जहाज बनाउने सोचमा छु,”टक्कले भने।
पर्यटन प्रवद्र्धनमा योगदानको सम्भावना
टक्कको सिर्जनाले जुम्लाको पर्यटन विकासमा नयाँ सम्भावना थपेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य भन्छन्, ‘ उनको सिप देखेर म छक्क परेँ। यदि उपयुक्त ठाउँमा ठुलो जहाज बनाउने सुविधा दिइयो भने यसले जुम्लाको पर्यटनमा टेवा पु¥याउँछ।’ तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले पनि टक्क नेपालीको प्रयासको प्रशंसा गर्दै आवश्यकता परे सहयोग गर्न तयार रहेको बताएका छन्।
सरकारी कदरको अपेक्षा
स्थानीय सरकारले टक्कको यो सिपलाई कदर गर्नु पर्ने स्थानीय बताउछन् । उनको कला र प्रयासले विज्ञान प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउन सक्छ। सबैले टक्कको सिर्जनामा गर्व गर्दै छतमा रहेको जहाज देखेर अभिभूत भएका छन्।
भविष्यका योजना जहाज म्युजियम
टक्क नेपालीको लक्ष्य केवल यही जहाजमा सीमित छैन। उनले भविष्यमा ठुलो जहाज बनाउने, त्यसलाई रमणीय स्थानमा राखेर “जहाज म्युजियम“ बनाउने योजनागर्ने योजनामा छन् । उनले भने,‘ पर्यटकले जहाज चढ्ने, खाना खाने, अवलोकन गर्ने व्यवस्था रहने छ । उक्त ठाउँ घुमेको टिकटको व्यवस्था हुन्छ ।’
टक्क नेपालीको कला, सिप र साहसले देखाएको छ कि सिर्जनशीलताको लागि न त डिग्री चाहिन्छ, न त संसाधन। चाहना, दृढ निश्चय र आत्मबलले चाहे जस्तो सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनको प्रयासले जुम्लालाई न केवल विज्ञान तर्फ उन्मुख बनाउनेछ, तर पर्यटनको नयाँ ढोका पनि खोल्नेछ।














