जुम्लाको ओदी गाउँमा ज्वरो फैलिए पछि स्वास्थ्य शिविर सञ्चालन : २८० जनाको स्वास्थ्य जाँच
जुम्ला — हिमा गाउँपालिकाको ओदी गाउँमा ज्वरो फैलिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिमा गाउँपालिका–२ अन्तर्गत पर्ने ओदी गाउँमा भाइरल ज्वरो फैलिन थालेपछि एक चिकित्सकीय टोली उक्त गाउँमा पुगेको हो , उक्त स्वास्थ्य कमीको टोलीले २सय ८० जनाको स्वास्थ्य जाँच गरेको छ । त्यस्तै हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर रावत सहितको टोलीले ओदी गाउँमा पुगेर दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएको छ ।
उक्त शिविरले नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी सहित स्थानीय २सय ८० जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्यकर्मी गोविन्द भण्डारीले बताए । उनका अनुसार जाँच गरिएका व्यक्तिहरूमध्ये १ सय ५४ जना महिला र १सय २६ जना पुरुष हुन ।
उनीहरुमा धेरैजसोमा भाइरल इन्फेक्सनको लक्षण देखिएको स्वास्थ्य शिविरमा सहभागी डा. प्रेम ओलीले जानकारी दिए । डा. ओलीका अनुसार थप पुष्टि र रोगको पहिचानका लागि १० जना सम्भावित बिरामीको स्वाब नमूना संकलन गरी परीक्षणका लागि कर्णाली प्रदेश प्रयोगशालामा पठाइएको छ।










