हिमामा सञ्चालित शसक्त बालिका परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

जुम्ला — जुम्लाको हिमा गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजनाको सामाजिक लेखापरिक्षण गरिएको छ। पेस नेपाल जुम्लाले प्लान इन्टरनेशनलको सहयोगमा बिहीबार आयोजना गरेको लेखापरिक्षण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयबासीको उपस्थिति रहेको थियो।

परियोजनाले परम्परागत हानिकारक अभ्यास, बालविवाह, छाउपडी, पोषण, स्वास्थ्य, ‘पढाई कुना’, किशोरी सत्र लगायतका सामाजिक कुरीति र विभेदविरुद्ध काम गर्दै आएको छ। यसको प्रभावस्वरूप हिमा गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिएको हो।

स्थानीयले परियोजनाले ल्याएका विभिन्न कार्यक्रमहरू — जस्तै अभिभावक शिक्षा, दौतरी शिक्षा, किशोरी क्लब, बुवा समूह ,प्रभावकारी रहेको भन्दै यस्ता कार्यक्रमहरू नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

सामाजिक लेखापरिक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही, उपाध्यक्ष सुरपुना शाही, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा शाखा, स्वास्थ्य शाखा तथा महिला तथा बालबालिका शाखाका प्रमुखहरूको उपस्थिति थियो।

कार्यक्रममा पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले परियोजनाका लक्ष्य, उद्देश्य, उपलब्ध परिणाम र किशोरी क्लबका गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले परियोजना अन्तर्गतका कार्यक्रमहरू बालिकाको सशक्तिकरणमा केन्द्रित रहेको बताए।

त्यसैगरी गाउँपालिका अध्यक्ष शाहीले शसक्त बालिका परियोजनाले स्थानीय बालिकाहरूको चौतर्फी विकासमा महत्वपूर्ण टेवा पु-याएको भन्दै पालिकाबाट आवश्यक सबै प्रकारको सहयोग जारी रहने प्रतिबद्धता जनाए।

महिला तथा बालबालिका शाखाकी प्रमुख राज्य लक्ष्मी रावलले किशोरीहरूमा सामाजिक चेतना अभिवृद्धि भएको उल्लेख गर्दै, उनीहरूले हानिकारक सामाजिक अभ्यासविरुद्ध आवाज उठाउन थालेको बताइन्। उनले बालविवाहजस्ता कुरीतिहरू न्यूनीकरणमा परियोजनाको योगदान उल्लेखनीय रहेको बताइन्।

सम्बन्धित समाचार