काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको गठबन्धन कुहिएर झर्ने दाबी गरेका छन् ।
असारमा कांग्रेस एमाले मिलेर नयाँ गठबन्धन बनाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएको छ । तर कांग्रेस एमालेको सम्बन्ध बिग्रिँदै गएको प्रचण्डले दाबी गरेको छन्।
प्रचण्डले अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस एमाले गठबन्धन चाँडै टुट्ने दाबी गरेका छन् ।
उनले भने, ‘अहिले हामी सरकार बनाउने हतारोमा छैनौं। हामीलाई सरकार चाहिँएको छैन। हामीलाई जनतातिर फर्काइदिएकोमा कांग्रेस एमालेलाई धन्यवाद नै भनेका छौं हामीले। हामी जनतातिर जान्छौं। तिमीहरु मिलेर बस भनेका छौं। तर, कांग्रेस एमाले मिल्दै छैनन्, मलाई लाग्छ, केही समयभित्र त्यो अपवित्र गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ।’
उनले आफूले सरकार माओवादी नेतृत्वको सरकारले धेरै रेकर्ड बनाएकाले स्थापित गरेर जनतामा लिएर जानुपर्ने बताए।
उनले भने, ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ ।’ उनले अगाडि भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’
त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताए । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उनले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बतए ।
दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताए ।
त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उनले बताए ।
तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए । उनले भने, ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारवाहीमा परेको पहिलोपटक हो ।’ उनले अगाडि भने, ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’